१० मंसिर २०८३, बिहिबार | November 26, 2026

आज माघ १६ गते देशभर शहीद दिवस मनाइँदै



काठमाडौं ।प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुर्नस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते सोमबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ ।

वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालकोे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती ९स्मारक० यज्ञडोल ९जगडोल० सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए । विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्योसमेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।

विदेशी पाहुना आउँदासमेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ०० बजे

Your email address will not be published.

भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौ । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंकले Excellence in POS

१२औँ धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, संगसंगै डिस्कोर्सको छैटौँ कनक्लेभ पनि संचालन हुने

नेपालगन्ज । नेपालगन्जमा यसवर्षपनि धारा नेपालगन्ज म्याराथनको १२ औं सृङ्खलाको

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार

चेक अनादर मुद्दामा कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता कान्छाराम तामाङविरुद्ध चेक