४ भदौ २०८३, बिहिबार | August 21, 2026

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले



बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो ।

वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका-२ लमसुङका पलु पुनले बताए । “यो समयमा गत वर्ष तीनपटकसम्म हिमपात भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षासमेत गत कात्तिक महिनायता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उनले भने ।

यस वर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको कारण धान उत्पादन घटेको अवस्थामा हिउँदेबालीसमेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन् । खेतमा लगाएको गहुँ, जौँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका-७ ताकमका स्थानीय दीपक सुवेदीले बताए ।

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै हिमपातको महत्व रहेको सुवेदीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पु¥याउने भएकाले पनि कृषक हिमपातको प्रतिक्षमा छन् ।

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ ।

हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन् । पछिल्लो वर्षहरूमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस-माघमा हिउँ नपर्ने र फागुन-चैतमा हिउँ पर्ने अवस्था आएको छ । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेनलगायतका हिमाल रङ उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए । “हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सुमात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिग्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ”, अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका पुनले भने ।

गत वर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको चहलपहल भएको स्मरण गर्दै पुनले यस वर्ष हिउँ नपरेपछि पर्यटनसमेत प्रभावित बनेको सुनाए । “हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, अहिले त घोरेपानीका ठूला २२ वटासहित सबै होटल सुनसान छन्, सुक्खा जाडोको कारण नेपाली पर्यटक पनि घुम्न आउने घटेका छन्”, उनले भने । हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । म्याग्दीमा हिमपात भएपछि पर्यटकीयस्थल पुनहिलसँगै टोड्के, रुइसे, झाँक्रेपानी, मालिका धुरी, दुरलेकलगायतका स्थानमा पर्यटकको चहलपहल बढ्ने गर्दछ ।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि अचम्मित बनेको जनता मावि दग्नामका प्रअ गुनबहादुर पुनले बताए । “मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूलहरू बेमौसममा फुल्न थालेका छन्”, प्रअ पुनले भने ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : १३ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका