काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्नसक्ने बताएका हुन् ।
उनले सन्देशमा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व तथा राष्ट्रिय एकता आजको आवश्यकताको रूपमा रहेको उल्लेख गरेका छन् । “राष्ट्रिय हितका लागि हामी सबै केन्द्रित हुनुपर्नेमा कतिपय अवस्थामा स्वार्थकेन्द्रित गतिवधि देखिएकाले त्यस्ता प्रवृत्तिप्रति सम्पूर्ण राजनीतिक दल, सरकार स्वयं र आम नेपाली जनतासमेत सजग र सचेत हुनु आवश्यक छ”, जारी सन्देशमा भनिएको छ ।
सन्देशमा प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख छ ।



















प्रतिक्रिया