२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

म्याग्दीको वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ



बेनी । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ ।

खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताए ।

“६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति हुने क्रम बढेको छ”, उनले भने, “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा बहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।”

अन्नपूर्ण गाउँपालिकाबाट आठ लाख ५५ हजार एक सय ७३ टन, रघुगङ्गा गाउँपालिकाबाट तीन लाख ५० हजार चार सय ६८ दशमलव १० टन र बेनी नपाबाट ३१ हजार एक सय ३७ टन माटो बाढीले बगाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनका अनुसार मङ्गला गाउँपालिबाट ३३ हजार चार सय ६६ टन, मालिकाबाट एक लाख तीन हजार दुई सय ३० टन, धौलागिरि गाउँपालिकाको आठ लाख ९६ हजार चार सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षको दुई लाख ४५ हजार आठ सय ८६ टन माटो विभिन्न खोलानाला हुँदै बगिरहेको छ ।

दुई हजार दुई सय ९७ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको म्याग्दीमा ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना छ । तीन प्रतिशत भू–भाग मात्र समथर छ । एकतीस बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार परिवार जोखिममा छन् ।

तीन जलाधार क्षेत्र र सात उपजलाधार क्षेत्रमा विभाजन गरिएको म्याग्दीको ३५७ दशमलव नौ हेक्टर जमिन भू–क्षयबाट प्रभावित छ । म्याग्दी, कालीगण्डकी र रघुगङ्गाले क्रमशः ५५, ३० र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको छ । वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले माथिल्लो तटीय क्षेत्रमा रहेको मुस्ताङमा केही वर्षयता अत्यधिक बर्सात हुँदा त्यसको असर म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका कालीगण्डकीको तटीय बस्तीमा देखिएको बताए ।

“जलाधारीय दृष्टिकोणले अतिनै क्षतिग्रस्त अवस्थामा रहेको मुस्ताङमा विगत केही वर्षयता अत्यधिक पानी पर्न थालेको छ”, उनले भने, “कालीगण्डकी नदीको सतह बढ्दै जानु र सो क्षेत्रको गेग्रानको तल्लो तटीय क्षेत्रमा बढ्नु थप चिन्ताको विषय हो ।”

बाढी, पहिरो तथा कटानको समस्यालाई समाधान गर्न ग्रामीण सडक निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिमा अधारित सडक पाखो संरक्षण, अनियन्त्रितरुपमा बग्ने भलपानीको उचित व्यवस्थापनका लागि भल तर्काउने कुलेसो, जलाधार संरक्षण पोखरी निर्माण गर्नुका साथै जिल्लाभित्र रहेका ठाडो÷खहरेखोलाको जलाधार क्षेत्रमा भएको भू–क्षयलाई नियन्त्रण गनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : ३६ बजे

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको