९ माघ २०८२, शुक्रबार | January 23, 2026

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै



कास्की । पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ ।

सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ ।

पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ । निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता जनाएको छ । उनले भने, “लामो समयको प्रतिक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन् । यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ ।”

यसैगरी थाकबाट माथिको १० किमी सडकसमेत स्तरोन्नतिको काम सुरु भएको छ । रौताहा कन्स्ट्रक्सनले छ महिनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सो सडकको लागत रु २२ करोड २६ लाख छ । सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा प्रख्यात छ । दृश्यावलोकन र सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पक्की सडकबनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुआत स्थलका रूपमा समेत लिइन्छ । विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारकाबीच सिक्लेसमा पहिलोपटक वार्ता भएको थियो । तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा वार्ता भएको थियो । सिक्लेसमा शान्तिस्तम्भसहित पूर्वाधार निर्माण गरिएको छ । -रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ४० बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी