६ बैशाख २०८१, बिहिबार | April 18, 2024

हावाहुरीसँगै वर्षा हुन थालेपछि…



फुङ्लिङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उनी यसो माथि घरको छानो हेर्छन । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ ।

यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवाका लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन् । मिक्वाखोला-४ साँबाका स्थानीय लिम्बूको परिवार फुस (खर)ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन् ।

निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ । फुसले छाएको छानो धेरै नै पुरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ ।

झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात् पहिले नै छाडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ । लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएका छन् ।

दुई दाजु काम वा अन्य सिलसिलामा बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफूचाहिँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताइन। बाबु सुरेश गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुङ्गो नरहने मायाले सुनाइन । उनले यस वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नुरहेको बताइन ।

केही ठूलो पानी पर्दा घरभित्र आहाल (पानी जम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले सुनाइन । “कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौँ”, उनले भनिन । गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहा नभएको उनले बताइन । उनले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताइन ।

यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन् । घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औँल्याएका छन् ।

लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए । उनले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताए ।

साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिए । वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँवाले बताए । सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँवाको भनाइ छ ।

उनका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ । ढुङ्गा र माटोले बनेको घरको वाल (गारो) धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १० : ०० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी