१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन् ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उनले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिए । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

“अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिँदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औँलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी अदक्ष कामदार खाडीमा पठाइ तिनले पठाएको विप्रेषणले देश चलाइरहेका छौँ”, उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आफू मन्त्री हुँदा कर्मचारी राखेरमात्र निर्माण व्यवसायीसँग कुरा गरेको प्रसङ्ग पनि कार्यक्रममा उनले सुनाए । यस्ता कामको सुरुआत नगरी नयाँ मूल्य स्थापित नहुने उपप्रम श्रेष्ठको भनाइ थियो ।

पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक उपन्यासका लेखक दाहालले राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको जानकारी गराए । मसानघाटबाट सुरु भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उनले सुनाए । देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले ‘कालपात्र’ उपन्यास पढ्नैपर्ने लेखक दाहालले बताए ।

“सर्वाधिक विकृति पत्रकारिता क्षेत्रमा छ, हिजो प्रेस विरोधी बजेट आएको छ, प्रहरी, प्रशासन र न्यायालयमा पनि यस्तै विकृति छ, सरकारी अनुदान लिन कमिसन दिनुपर्छ, तर यो कसैले पनि भन्दैन”, उनले भने । गत वर्ष छ महिना अमेरिका बसेका बेला उपन्यास तयार पारिएको जानकारी पनि लेखक दाहालले गराए । पूर्वसांसद शोभाकर पराजुलीले उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताए । राजनीतिका नाममा नैतिकता र मानिसको व्यापार भइरहेको उनको भनाइ थियो ।

“राजनीतिमा छरपस्ट यौनको प्रभाव पनि उपन्यासमा आएको छ, रुपको प्रभावले राजनीतिमा के गर्छ भन्ने स्वरुप उपन्यासमा पढ्न पाइन्छ, राजनीतिले धर्म छोडेको कुरा पनि उपन्यासले व्यक्त गरेको छ”, उपन्यासमाथि टिप्पणी गर्दै पूर्वसांसद पराजुलीले भने ।

खराब गर्नेहरु थोरै भए पनि सङ्गठित हुँदा समाज नै भ्रष्ट भएजस्तो देखिएको उल्लेख गर्नुहुँदै उनले असल मानिसको पुनरोदयका आशा उपन्यासले गरेको बताए ।

उपन्यासमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै प्रा डा ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यासका कथानक अघि बढेको बताए । उपन्यासको आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन आएको उनले सुनाए । उपन्यासका पात्रका नाम पनि मौलिक रहेको समीक्षक अधिकारीले सुनाए ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले आजको नेपालको यथार्थ चित्र उपन्यासमा भेट्न सकिने बताए । जन्मने, मर्ने र फेरि जन्मने पौरस्त्य दर्शनमा आधारित उपन्यासका रुपमा ‘कालपात्र’ आएको उनको विश्लेषण थियो ।

कार्यक्रममा पत्रकार रामजी दाहाल र कृष्ण भुसालले ‘कालपात्र’ उपन्यासले उठाएका विषयवस्तुका बारेमा प्रकाश पारेका थिए । दाहालको उपन्यास ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको हो । दुई सय पृष्ठको पुस्तक एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिले मुद्रण गरेको हो । उपन्यासका मूल्य रु ५२५ तोकिएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ५ : ५४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित