१५ बैशाख २०८१, शनिबार | April 27, 2024

१९ सय भुक्तानी गर्न नसक्दा बुटवलको सुनौलो सहकारीमा लफडा, संचालकको नाम र दर्ता लुकाएर संचालन



बुटवल । बागलुङकी रतिमाया छन्त्याललाई उनको श्रीमानले छाडेको २६ वर्ष भयो । एकल महिलाका रुपमा दिनभरी मजदुरी गर्ने साँझको छाकको जोहोगरी बुटवल देवीनगर बसेको पनि त्यती नै वर्ष भयो । मजदुरीबाट प्राप्त दैनिक ज्यालादारीको पैसामा केही थपिने लोभले उनले देवीनगरकै होराइजन चोकमा खुलेको सुनौलो बहुउद्देश्यीय सहकारीमा जम्मा गर्न थालिन । उनले ज्यालाबाट पाएको रकमबाट हरेकदिन १ सय रुपैयाँ सहकारीमा जम्मा गर्ने र महिना मरेपछि त्यही पैसा निकालेर रासन पानी र आवश्यक घरखर्च चलाउने गर्थिन् । तर अहिले सहकारीले बचत गरेको रकम भुक्तानी गर्न असमर्थता देखाएपछि उनको चुल्होमा आगो बाल्नै समस्या उत्पन्न भएको छ ।

आर्थिक मन्दीले गाँजेको बुटवलमा पनि अचेल हरेक दिन काम पाईन्छ नै भन्ने ग्यारेन्टी छैन । काम नपाएको दिन सहकारीमा बचत गरेको पैसाले छाक टारौंला भन्ने रतिमायाको सपना सहकारीको भुक्तानी रोकिएपछि सपनामा नै सिमित भएको छ ।

रतिमाया जस्तै कपिलवस्तु घर भई बुटवल देवीनगरमा बसी दैनिक ज्याला मजदुरी गर्ने देवी थारु र उनका श्रीमान सुनिल थारुले बचत गरेको रकम पनि सुनौलो सहकारीले भुक्तानी नगरेपछि थारु दम्पत्ती ठुलो समस्यामा परेका छन् । दुवै जनाले मजदुरीबाट आएको पैसा सहकारीमा जम्मा गर्दै गए, तर डेरामा खर्च सकिएपछि जब भुक्तानी माग्न सहकारी पुगे सहकारीले भुक्तानी गर्न नसकिने बताउँदा उनीहरु छाँगाबाट खसेजस्तै बनेका छन् । ‘दिनदिनै आएको पैसाबाट बुढाको र मेरो गरि २ सय सहकारी र बाँकीको चामल नुन तेल चलाएका थियौं, अहिले औषधी गर्न पैसा निकाल्न जाँदा सहकारीले पैसा दिएन ।’ देवीले भनिन् ।

देवी र रतिमायाकै जस्तो पिडा यतिबेला सुनौलो सहकारीले दर्जनौ गरिब र असहायहरुलाई पारेको छ । देवीनगरको लालीगुराँस पथ बसेर अटो चलाउने ऋषि पाठकले अटो मर्मतका लागि सहकारीमा पैसा जम्मा गरे, तर अटो बिग्रेर मर्मतका लागि पैसा दिन नसक्ने सहकारीले बताएपछि अलमलमा परेका छन् । गुल्मी घर भएकी विष्णु विक, दुर्गा दर्लामी, कोपिला सार्की, संगीता दर्लामीको अवस्था पनि सहकारीले भुक्तानी दिन नसक्ने बताएपछि पीडादायक बनेको छ । स्कुलको खाजा खर्च र मामा माइजु र दाजुहरुले टिका लगाएर दिएको पैसा सहकारीमा जम्मा गर्न पुगेकी १२ वर्षिया सुप्रिया रानाको पैसा पनि सहकारीमा फँसेपछि उनी आँखाभरी आँसु बनाएर प्रहरी कार्यालयको ढोकामा पुगेकी छन् ।

मंगलबार १ हजार ९ सय रुपैयाँको चेक लिएर सहकारी पुगेका एकजना बचतकर्ताको भुक्तानी गर्न सहकारीले असमर्थता देखाएपछि उनले अन्य बचतकर्ताहरुलाई खबर गरेका थिए । एक कान दुई कान हुँदै भुक्तानी हुन नसक्ने खबर पाएर मंगलबार साँझ सम्म सयौं बचतकर्ता सहकारी घेराउ गर्न पुगेपछि सहकारीको बदमासी सार्वजनिक भएको छ ।

 

सहकारीको कार्यालयमा न त संचालकहरुको नाम छ न त दर्ताका कुनै कागजपत्र । आफुलाई व्यवस्थापक बताउने सिन्धुपाल्चोक लिसङ्खुपाखर ७ घर बताउने सृजना तामाङले संचालकको नाम, दर्ता र ठेगाना बताउन समेत इन्कार गरेपछि सुनौलो सहकारीका बचतकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सम्भाव्य हातपातबाट जोगाउन प्रहरीले तामाङ र नाम नखुलेका एकजना युवालाई सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएपनि उनीहरुलाई कारवाही गर्ने आफुहरुलाई अधिकार नभएको भन्दै उजुरी लिन नमानेको पीडित बचतकर्ताहरुले बताएका छन् । प्रहरीले सहकारीका विषयमा सहकारी दर्ता भएको कार्यालयबाट पत्र नआउँदा सम्म प्रहरीले सिधै मुद्दा चलाउन नमिल्ने जवाफ दिएको बचतकर्ता गोपाल श्रेष्ठले बताए ।

बचतकर्ताले प्रहरीलाई बुझाएको व्यवस्थापक बताउने सृजनाले संचालकहरुको नाम बताउन ईन्कार गर्दै आफुलाई समय दिन र आफैले भुक्तानीको गरिदिने वचन दिएपनि बचतकर्ताहरु उनको विश्वासमा पर्न सकेका छैनन् ।

सहकारीका धेरै समस्या रहेको र दर्ता भएको निकायबाट लेखि आएमात्र आफुहरुले प्रक्रिया अगाडी बढाउन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

बुटवल देवीनगरको होराइजन चोक मै कार्यालय रहेको सनौलो बहुउद्देश्यीय सहकारी २०७८ भाद्र ५ गते सहकारी रजिष्ट्रारको कार्यालय दाङमा दर्ता भएको संस्था हो । व्यवस्थापक तामाङले नबताएको र सहकारीको कार्यालय परिषरमा नामावली नराखिएको सहकारी स्याङ्जा कृष्ण गण्डकी ६ का बिष्णु प्रसाद भट्टराईको नाममा दर्ता भएको देखिएको छ । संस्थाको उपाध्यक्षमा बराङ्दी ६ पाल्पाकी साबित्रा बस्याल, सचिवमा बेजोर ८ सिन्धुलीका राजन कार्की, सहसचिवमा दाङवाङ ६ प्यूठानका प्रेम प्रसाद आचार्य र कोषाध्यक्षमा तानसेन १ पाल्पाका विश्वबहादुर खबी क्षेत्री रहेका छन् । सहकारी दर्ता कार्यालय दाङका अनुसार सदस्यहरुमा हर्दिचौर गुल्मीकी कमला न्यौपाने र पैयु ५ पर्वतकी बिष्णु कुमारी श्रेष्ठ रहेका छन् ।

पीडितहरु व्यवस्थापकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि प्रहरीले मुद्दा लिएर दाङ जान भनेपछि आफ्नो बचतको पैसा फर्कनेमा ढुक्क हुन सकेका छैनन् । प्रहरीले नियन्त्रणमा लिएको सृजनालाई हिरासतमा राख्न नमिल्ने र सहकारी दर्ता भएको निकायको पत्र नआए छाड्नु पर्ने बताएपछि बचतकर्ताहरुमा त्रास थपिएको छ । सृजनाको सहयोगीका रुपमा प्रस्तुत भएका नाम नबताउने एक युवाले प्रहरीकै अगाडी बचतकर्ताहरुलाई बाहिर भेटेर ठिक पार्ने धम्की दिएपछि उनीहरुमा त्रास थपिएको हो ।

‘प्रहरीले उजुरी नलिने, व्यवस्थापकले संचालकहरुको नाम नबताउने, अब हामी कहाँ जाने र?’ ठेलामा फलफुल बेचेर गुजारा चलाउने बिष्णु बि कले प्रश्न गरे ।

पीडितहरु न्याय माग्द बिहानै देखि वडा प्रहरी रामनगर र इलाका प्रहरी कार्यालय बुटवल पुगेपनि प्रहरीको एउटै जवाफ आएपछि अलमलमा परेका छन् । दाङमा उजुरी दर्ता गराएर त्यहाँबाट पत्र बनाएर प्रहरीसम्म पुग्दा व्यवस्थापक पनि फरार हुन सक्ने आशँका छ, बचतकर्ता गोपाल श्रेष्ठको । ‘हामीले बुझाएको २ जनालाई प्रहरीले राख्न मिल्दैन भनेको छ’, श्रेष्ठले भने, ‘उनीहरुलाई प्रहरीले छाड्ने र दाङबाट पत्र आउँदा सम्म फरार भए भने त्यस्को जिम्मा कस्ले लिने ?’

संघीयताको कार्यान्वयनसँगै सहकारीलाई संघ, प्रदेश र स्थानीयतहमा छुट्टाछुट्टै दर्ता गर्ने अधिकार दिएपछि सहकारी क्षेत्रमा अराजकता बढेको छ । सहकारी दर्ता गर्न भनिए पनि त्यसभित्रको नियमन र कारवाही गर्ने निकायको किटान नगरिँदा पीडितहरुले न्याय पाउन सकिरहेका छैनन् ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी भिम प्रसाद तिवारीले सहकारी भित्र धेरै विकृतिहरु रहेको स्विकार गर्दै पीडितको उजुरी आए विद्युतिय माध्यमबाट पनि प्रशासनमा कारवाहीको लागि पत्राचार गर्न सकिने बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १२ : ५९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग