२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

प्रचण्ड-नेपालको नेकपा ब्युँताउने हल्ला, ‘एमालेलाई देखाएर कांग्रेस तर्साउने रणनीति’



काठमाडौं । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाएका छन ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका प्रचण्ड र सोही सरकारको सहयोगी बनेका नेपाललले केही दिनयता निरन्तर नेकपा ब्युँताउने अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायण विलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको दोहो¥याए । सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डको भनाइलाई समर्थन गरे । यसअघि पनि नेपालले माओवादीसँग नेकपा ब्युँताउने सवालमा पार्टी एकता गर्न सकिने पक्षमा रहेको बताएका थिए । माधवकुमार नेपाल, प्रचण्ड, विप्लव र उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल शुरू गरेको प्रचण्डले सन्देश दिएका छन ।

फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने भन्दै प्रचण्डले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा कम्युनिस्ट एकताको कुरा छाड्न नहुने बताए । कम्युनिस्ट विभाजन भएकोमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै प्रचण्डले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकतावद्ध बनाउँदै नेकपाको स्वरूप दिने अध्यक्ष प्रचण्डको दाबी छ ।

तर, नेकपा (एमाले) ले समाजवादी मोर्चा बनाउने कुरा चार दलीय मोर्चाको सत्ताको भ¥याङ भएको टिप्पणी गरेको छ । समाजवादी मोर्चादेखि नेकपा बनाउने कुरा एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै भएको टिप्पणी गर्दै एमालेका सचिव योगश भट्टराइले नेपाल समाचारपत्रसँग भने- ‘साच्चै नेकपा ब्युँताउने कुरामा लाग्नुभएको हो भने अहिले मोर्चा बनाएका चार दलले पहिला पार्टी एउटै बनाएर देखाउनु पर्छ । उहाँहरूले त्यसो गर्न सक्नुहुन्छ ? होइन भने अहिले नेकपा ब्युँताउने कुनै सम्भावना नै छैन । यो केबल सत्ताको बार्गेनिङ र एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै हो ।’ चार दलीय मोर्चामा सहभागी नेताहरूलाई पार्टी एकता गर्न चुनौती दिँदै नेता भट्टराइले भने-‘एमालेको अगुवाइमा भएको पार्टी एकतापछि बनेको नेकपालाई यो अवस्थासम्म पु¥याउने नेताहरूले फेरि नेकपाको नाममा राजनीति गर्नु बेइमानी हो । उनीहरूका कुरा अब जनताले पत्याउँदैनन् ।’

समाजवादी मोर्चामा सहभागी दलका कतिपय नेताहरूले समेत समाजवादी मोर्चालाई नेकपामा परिणत गर्ने दलका शीर्ष नेताहरूको अभिव्यक्ति पार्टीको आधिकारी धारणा नभएको बताएका छन् । मोर्चालाई नै नेकपामा परिणत गर्ने भन्ने विषय सजिलो नभएको टिप्पणी गर्दै एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी मोर्चालाई पार्टीमा रुपान्तरण गर्ने विषयमा पार्टीभित्र कुनै आधिकारिक छलफल नभएको बताए । उनले नेपाल समाचारपत्रसँग भने- ‘नेताहरूले आफूखुसी बोल्नुभएको हो । यदि, नेकपा ब्युँतियो भने पनि मोर्चा छुट्टै र पार्टी छुट्टै हुन्छ, दुइवटै कुरालाई एकै ठाउँ राखेर हेर्न हुँदैन । मोर्चामा सबै खालका दलहरू समावेश हुन्छ तर, पार्टीमा विचार मिल्नेहरूको मात्र एकता हुनसक्छ ।’

समाजवादी मोर्चा निर्माणकै दिन प्रचण्ड र माधव नेपालले उपेन्द्रलाई कमरेड भनेर सम्बोधन गरेपछि मोर्चा घोषणा सभाहल तालिले गुञ्जिएको थियो । यद्यपि, उपेन्द्र यादव भने यो विषयमा मौन छन् । जसपाका एक नेताले भने एउटा परिस्थितिमा समाजवादी मोर्चा बनाएको भन्दै यसलाई कम्युनिस्ट पार्टीको रूपमा चित्रण गर्न नहुने जिकिर गर्दै भने- ‘समाजवाद हाम्रो एजेन्डा नै हो । हाम्रो एजेन्डालाई मानेर प्रचण्ड, माधव नेपाल र विप्लवजी समेत मोर्चा बनाएर जाने विषयमा सहमत भएपछि मोर्चा बनाइएको हो । यो केवल समाजवादी मोर्चा हो, तर नेकपा बनाउने भन्ने कुरा गलत छ । हामी त्यसमा सहमत छैनौं ।’ आजको नेपाल समाचारपत्रमा जीवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ४६ बजे

त्रिभुवन विश्वविद्यालयमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् ।

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको