६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

७ वर्षपछि आज खजुरा क्यान्सर अस्पताल बनाउने संस्थाको साधारणसभा हुँदै

यस्तोछ अस्पताल स्थापनाको इतिहास



खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्ने प्रखर परोपकार मिसन नेपालको ७ वर्ष पछि आज ११ औं साधारण सभा हुँदैछ । अस्पताल निर्माण गर्ने संस्थालाई लामो समय निश्क्रिय बनाइएको भन्दै चौतर्फि आलोचना भएपछि आज संस्थाले साधारणसभा तथा अधिवेशन गर्न थालेको हो ।

नेपालको नारायणी देखि पश्चिम र भारतको लखनउ देखि पूर्वको एकमात्र क्यान्सर अस्पतालकारुपमा परिचय बनाएको नेपालकै पहिलो सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण गर्ने मिशन नेपालको साधारणसभामा भाग लिन अस्पताल निर्माणमा प्रेरणा प्रदान गर्ने भारतका प्रसिद्ध महात्मा महामण्डलेश्वर स्वामी प्रखरजी महाराज खजुरा पुगेका छन् । प्रखरजीको प्रमुख आतिथ्य र अस्पतालका संकल्पकर्ता दीन दयालजी महाराजको विशिष्ठ आतिथ्यमा साधारण सभा हुन लागेको मिशन नेपालले जनाएको छ ।

बांके जिल्लाको खजुरा र आसपासका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारण जनताको आवश्यकतालाई दृष्टिगत गरी चिरकालसम्म स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभिप्रायबाट प्रेरित भई प्रखर परोपकार मिसन नेपालको २०६२ सालमा विधिवत दर्ता गरी प्रखर परोपकार मिसन क्यान्सर अस्पताल प्रस्तावित गरिएको थियो ।

सुरुमा लक्ष्मीनारायण सामुदायिक स्वस्थ्य उपचार केन्द्र निर्माणकालागि जुटेका खजुराबासीले त्यसैलाई विकास गर्दै क्यान्सर अस्पताल बनाउन सफल भएका थिए । २०६१ साल माघ १० गते अस्पताल निर्माणार्थ स्थानीय उद्योगपति उत्तमराज घिमिरेको अध्यक्षतामा समिति गठन गरेका खजुराबासीले २०६२ सालमा सोही समितिलाई पुनर्गठन गरि अर्का उद्योगी किस्मतकुमार कक्षपतिको अध्यक्षतामा प्रखर परोपकार मिशन नेपाल गठन गरेका थिए । सोही समितिले अस्पतालको निर्माण सम्पन्न गरेको हो । कक्षपति नेतृत्वको संस्थापक समितमा उपाध्यक्ष शिवराज श्रेष्ठ, सचिव शरण कर्माचार्य, कोषाध्यक्ष भक्त बहादुर केसी, अतिउल्ला खाँ र अन्जन केसी सदस्य रहेका थिए ।

संस्थाका संरक्षक सन्तश्री दीन दयालजी महाराजको संकल्प र छिमेकी मित्रराष्ट्र भारतका विश्वनाथ धामका पीठाधीश तपोमूर्ति अनन्त विभूषित महामण्डलेश्वर १००८ स्वामी प्रखरजी महाराजको प्रेरणाबाट २०६४ वैशाख १७ गते स्वामी प्रखरजी महाराजबाटै अस्पतालको शिलान्यास गरिएको थियो । सो क्यान्सर अस्पताल भारतको प्रखर परोपकार मिसन ट्रष्टमा पनि आवद्ध भएको छ ।

नेपालको लुम्बिनी प्रदेश, कर्णाली तथा सुदुरपश्चिम प्रदेश सहित भारतीय सिमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाबाट बञ्चित जनताको लागि समेत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले खजुरामा रहेको पुरानो विमानस्थलको ४ बिगाहा क्षेत्रफलको ५ हजार स्क्वायर मिटर क्षेत्रफलको जमीनमा निर्माण गरिएको अस्पताल भवनमा क्यान्सर रोगको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।

खजुरामा २०६५ माघ ११ गतेदेखि १९ गतेसम्म “वाचन प्रवीण” कथा वाचक पं श्री दीनबन्धु पोखरेलद्वारा वाचन गरिएको “श्रीमद्भागवत् वृहद् धन धान्याञ्चल ज्ञान महायज्ञ” मा प्राप्त करीब ५ करोड नगद, जग्गा तथा जिन्सी सहयोग र नेपाल सरकारको अनुदानबाट सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको हो ।

उक्त श्रीमद्भागवत् वृहद् धन धान्याञ्चल ज्ञान महायज्ञको तयारी र व्यवस्थापनका लागि २०६५ पुस ५ गते सम्पन्न बांके र बर्दिया जिल्लावासीहरुको वृहद् भेलाले ५ हजार १ सदस्यीय मूल सम्पादन समिति तथा विभिन्न उपसमितिहरु गठन गरेको थियो । सो समितिको संयोजक उद्योगपति केदारलाल श्रेष्ठ, सह संयोजक राजेन्द्र उपाध्याय, महासचिव वरिष्ठ पत्रकार पूर्णलाल चुके, सहमहासचिव मानबहादुर भण्डारी र कोषाध्यक्ष गोपाल तिवारी रहेका थिए ।

प्रखर परोकार मिसन नेपाल र नेपाल सरकारको अनुदानमा करीब ३० करोड रुपैयाँको लागतमा निर्मित उक्त अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि सङ्घीय सरकारको मातहतमा सञ्चालन हुँदै आएको छ ।

अस्पतालले क्रमशः क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकाँश क्यान्सर रोगका विरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने वाध्यता समाप्त भएको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : २१ बजे

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य