काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज (आइतबार) पेसी रहेको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
यसअघि सन्दीपको मुद्दामा गत बिहीबार (साउन ३२ गते) मुद्दामाथि सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो । न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।
उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो । १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् ।
प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो । मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो ।
जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए ।
यद्यपि विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए ।



















प्रतिक्रिया