५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

नेपालगन्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै, खजुरा बजार क्षेत्रको निर्माणको भने कन्तबिजोग



नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ ।

साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए ।

“पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो”, उनले भने, “अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ ।”

साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ । बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए।

नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले नेपालगन्ज्–गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गरे ।

उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ ।

सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ६९ करोडमा खर्च हुने जनाइएको छ । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगन्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जिनियर पाण्डेले बताए ।

सडक निर्माणको जिम्मा पाएको कम्पनी शर्मा एण्ड कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगन्ज–गुलरिया सडकविस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको बताए ।

उनले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराए । “हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ”, उनले भने, “सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ ।”

खजुरा बजार खण्डको १८ सय मिटरको कन्तबिजोग
नेपालगन्ज-गुलरिया खण्डको अन्यत्र धमाधम काम भइरहेपनि त्यसै सडक खण्डको खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग भएको छ ।

बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको तीन पटक म्याद थप, दर्जनौपटक काम सुधारको ताकेता र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि गत साउन २८ गते ठेक्का सम्झौता तोडिएको थियो । तर ठेक्का सम्झौता तोड्ने सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जका विरुद्ध ठेकेदारले मुद्दा दर्ता गराएर अलपत्र सडकमा काम गरे जस्तो नाटक सुरु गरेको छ ।

सम्झौता अनुसारको गुणस्तरमा लापरवाही सुधार गर्न, समयसिमाभित्र काम सम्पन्न गर्न र ठेकेदारको माग अनुसार पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता ताडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएको खजुराका स्थानीय अगुवा रोसन सापकोटाले बताए ।

सबै प्रक्रिया पुरा गरेर सम्झौता खारेज गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले बताए । ठेकेदारलाई काम गर्ने अवसर, समयमा काम सक्न र गुणस्तर सुधार गर्न दर्जनौपटक पत्राचार गर्दा पनि अटेर गरेपछि ठेक्का खारेज गरिएको बताउँदै उनले मुद्दा दिएर फेरि योजनालाई अल्झाउन खोजिएको आरोप लगाए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।

काम नगर्ने ठेकेदारबाट सम्झौता खारेज गरेर नेपालगन्ज(गुलरिया सडकको काम गरिरहेको शर्मा एण्ड कम्पनीलाई बाँकी काम गर्न दिनु पर्ने स्थानीयको मागमा ठेकेदारले दिएको मुद्दाले अवरोध पु¥याएको सडक डिभिजनका एक अधिकारीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५४ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया