काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भने, “शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।”
यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सही मूल्याङ्कन गरेको बताए ।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, गरिबी, जलवायु परिर्वतनलगायत विषयमा सदनमा गरेको सम्बोधनको सराहना गर्दै अध्यक्ष ओलीले जलवायु परिर्वतनलगायत मुद्दामा सम्पन्न देशले विपन्न राष्ट्रलाई सहयोग गर्नुपर्ने बताउनु प्रशंसनीय भएको टिप्पणी गरे ।
महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियालाई पीडित केन्द्रित भएर निरुपण गर्नुपर्ने, सर्वोच्च अदालत, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का सुझावसमेतलाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिनु सामयिक भएको अध्यक्ष ओलीले बताए ।



















प्रतिक्रिया