१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो



म्याग्दी । यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् ।

पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् ।

मङ्सिर जाडोको महिना । उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो ।

वैदेशिक रोजगार, सहर केन्द्रीत बसाइँसराइ र अध्ययन वा व्यापाररव्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका-६ दरबाङका बुद्धिजीवी एवं पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताए । “पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगारतर्फउन्मुख हुँदै गएका छन् । कुनै सीप, इलम वा व्यवसाय नगरिकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्”, उनले भने, “यस क्षेत्रका महिला विशेष गरी व्यावसायिक कृषिमा रमाउन थालेका छन् । आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरुको रस बसेको छ ।”

पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन । मालिका-२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु ९बर्खेआलु० बिक्री गरेर रू ३२ हजार आम्दानी भएको बताइन । विगतका वर्षमा बाँझै छोडिएको बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उनले बताइन ।

“चार वर्ष बाँझिएको जग्गालाई खनजोत गरी मल हालेर रू चार हजार खर्च गरी कोदो रोपेको छु । यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ”, विकले भनिन, “कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ । भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन् ।”

ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ । गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर रू २२ हजार आम्दानी गरेकी मालिका-५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै रू १७ हजारभन्दा बढी आम्दानी भएको जानकारी दिइन । उनका अनुसार उत्पादित आलु प्रतिपाथी रू एक सय ५० देखि रू दुई सयसम्ममा बिक्री हुँदै आएको छ । मालिका गाउँपालिकाका सातवटै वडामा व्यावसायिकरुपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

एकल र समूहगतरुपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताए । उनका अनुसार आलुसँगै पछिल्लो सयम यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् ।

सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताइन । “कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उनले भनिन, “पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ । कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”

आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका-१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

साथै स्थानीय महिलाले वन पैदावरबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताए । उनका अनुसार वनमा पाइने रातो च्याउ, जङ्गली फलफूललगायतका वनस्पतीबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  २ : ०४ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’