१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

गठन भएको १६ महिनापछि रास्वपाले पायो राजनीतिक मार्ग

 रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतन्त्र’



जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज सम्पन्न भएको छ ।

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै सम्पन्न भएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

बैठकले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन र महामन्त्री डा मुकुल ढकालको वैचारिक प्रतिवेदनको प्रस्तावना पारित गरेको छ । यसैगरी बैठकले पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लिमा अधिकारी, सह–महामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं तथा सह–कोषाध्यक्षमा दीपक बोहोरालाई मनोनित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १४ जना सांसदलाई केन्द्रीय समिति सदस्य बनाउने र प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य स्वीकार गर्दै केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, डा नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई मनोनीत गर्ने निर्णयसमेत गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री डा ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले २१ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । केन्द्रीय सचिवालयमा पदाधिकारी सभापति लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले, महामन्त्री डा ढकाल, सहमहामन्त्रीत्रय कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्षद्वय वसुमाया तामाङ र दीपक बोहोरा रहेका छन् ।

त्यसबाहेक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारसमेत सचिवालयमा मनोनीत भएका छन् भने बाँकी सदस्य पछि मनोनीत गरिने विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक मार्ग ‘बहुलवादी लोकतन्त्र’

तीन दिनसम्म चलेको बैठकले पार्टीलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने ‘बहुलवादी लोकतान्त्रिक’ हुने समेत प्रष्ट पारेको छ । बैठकले पार्टीको मूल राजनीतिक दस्तावेजको प्रस्तावना पारित गर्दै रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको पनि उल्लेख छ ।

“रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो”, संयुक्त बैठकबाट पारित दस्ताबेजमा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”

त्यसैगरी लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको पनि सो प्रस्तावनामा उल्लेख छ ।

रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्नेसमेत प्रस्तावनामा उल्लेख गरिएको छ ।

२०७९ असार ७ गते गठन भएको रास्वपा सोही सालको असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : ०५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट