१२ असार २०८३, शुक्रबार | June 26, 2026

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गरेका छन ।

विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गरेका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्छन । पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल रु एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउँछन ।

हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् । दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गरेका छन ।

गत कात्तिकदेखि हालसम्म एक सय ३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिए । “फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ जनाको परिवार चलिरहेको छ”, दिनेशले भने, “आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।” मह काढ्ने समय भएपछि दिनेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राख्छन । ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् ।

मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ । व्यावसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाएका छन । “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उनले भने, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु । लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नूनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देखेपछि आफूले पनि सुरु गरेको दिनेशले बताए । नूनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन सुरु गरेको उनले बताएका छन । व्यावसायिक मौरीपालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिएका छन ।

“मावली घरमा देखेर त्यस्तै खालको घार बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो । मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो”, उनले भने, “धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । दातृ निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु ।”

लालीखर्कस्थित दिनेशको घरभन्दा केहीमाथि घना जङ्गल छ । जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन् । त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ । पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गरेका छैनन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताए ।

अहिले सरकारी अनुदान लिनेको कमी छैन । दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिएका छैनन । आफ्नै बलबुतामा मौरीसँग रमिरहेका छन । “नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ”, दिनेशले भने, “अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप विस्तार गर्ने योजना छ । तीस वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु ।”

चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोलेका दिनेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताए । बुबा भारतीय सेनाबाट अवकाश भए पनि दिनेशले उनको पदचापलाई पछ्याएनन, कृषि पेसातिर लम्किरहे । दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ३८ बजे

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल