२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रामजानकी विवाह : आज स्वयम्बर, राष्ट्रपतिको शुभकामना



जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ ।

गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुनलागेको महन्थ दासले बताए । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।

आज राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन् ।

सोही मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयम्बर हुन्छ । तत्पश्चात लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने आजै राति मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला भयो । तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो ।

धनुष यज्ञ त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार कार्यक्रम सम्पन्न भई सीतारामबीच स्वयम्बर हुने पक्का भएको थियो ।

चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) सम्पन्न भएकामा हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो ।

जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने महन्त बैणवले बताए ।

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् । उनले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गरे ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ४९ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले