१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि…



झापा । उत्तरी झापाको बुद्धशान्ति-३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन ।

पूर्वी झापाको मेचीनगर-१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उनी हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझिन्छन । उक्त बिहान पनि सबेरै ब्युँझिएका उनी आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेरे हात्तीले घरको पर्खाल भत्काएको थियो । हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए । गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पु¥यायो । एक्लै लुसुलुसु आउने जङ्गली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउँछन । गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन् । ‘मर्निङ वाक’ हिँड्ने चलन पनि गाउँमा छ । तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ । “हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर-१५ सुकुम्वासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्छन, “बाक्लो हुस्सु लागेको हुन्छ । हात्ती पनि जताततै भेटिन थालेका छन् । कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।” झापाका १५ वटै पालिका हात्ती प्रभावित छ । डिभिजन वन कार्यालय झापाले जिल्लाको वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावकहरु आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल-कलेज पठाउन डराउन थालेका छन् ।

बुद्धशान्ति-३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जङ्गली हात्ती पस्ने गरेको बताए । साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पु¥याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । जङ्गली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताए । स्थानीय युवाहरु साँझ पर्ने बित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उनले जानकारी दिए ।

अभिभावकहरुलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ । “जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,” उनले भने, “स्कुल पठाउँदा समेत चिन्ता हुन थालेको छ । अब घर र सडक कतै पनि सुरक्षित रहेन ।” आज बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उनकी दाजुकी छोरी हुन् । कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्ने बित्तिकै घरबाट निस्किएको जनाउँदै उनले भने, “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो । उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए । एक्कासि सडकमा हात्ती आइपुग्यो ।”

दुवै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन् । दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उनको भनाइ छ । दैनिकजसो गाउँ डुल्ने जङ्गल हात्तीका कारण बुद्धशान्तिको जङ्गल आसपासका बच्चादेखि वृद्धवृद्धासम्म घरबाट बाहिर निस्कन डराउँछन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जङ्गली हात्तीको बिगबिगी रहेको स्वीकार गरे । उनले जलथल, पृथ्वीनगर, रङ्गेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताए । विभिन्न वनमा छरिएर बसेका र हूल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उनले बताए । उनले भने, “एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ ।” उनले झापाको जङ्गलमा हाल ४० वटा जङ्गली हात्ती रहेको अनुमान गरिएको बताए ।

दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उनले जानकारी दिए । हात्तीलाई जङ्गलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जङ्गल वरिपरि राज्यको करोडौँ लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ । स्थानीयले आफूखुशी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्ने समेत उपाय गर्दै आएका छन् । तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन छाडेको छैन ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ४७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्