२४ श्रावण २०८३, आइतबार | August 9, 2026

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान



इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका-३ का किसान मिलन खड्काले बताए । “इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ, तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ”, उनले भने, “अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ ।”

अदुवामा गानो कुहिने, गबारो, पात बेरुवालगायत रोगको सङ्क्रमण देखिएको किसान रघुनाथ अर्यालले बताए । “सुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोट मर्ने गरेको छ”, उनले भने । अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ ।

अदुवा खेती गर्दै आएका किसान जगनाथ अधिकारी भन्छन, “रोप्नुअघि नै बीउ गानोमा ढुसीको सङ्क्रमण भइरहेको छ, उम्रिने बित्तिकै टुसा मर्छ ।” अन्यत्रबाट बीउ ल्याएर खेती गरे रोगबाट मुक्ती पाउन सकिने अधिकारीको भनाइ छ ।

मसला र ओषधिजन्य प्रयोगका लागि भारतमा निर्यात भइरहेको अदुवा किसानले ठाउँ र बीउ फेरेर रोप्दा पनि उम्रने वित्तिक्कै मर्न थालेपछि किसानले वैकल्पिकरुपमा एभोकाडो, ड्रागनलगायतको खेती गर्न थालेका छन् ।

उत्पादन घटेपछि अदुवा व्यापारी वैकल्पिक उपाय खोज्न थालेका व्यापारी जीवन पोखरेल बताउँछन । उनी अदुवाको कारोबार छोडेर तीन वर्षयता कुचो र अलैँचीको व्यापारमा लागेका छन ।

चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ । रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ । प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन् । खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन् ।

इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए । गत वर्ष ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार छ सय २० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए । “उत्पादकत्व र रोपण क्षेत्रफल पनि घटेको छ”, प्रमुख बर्देवाले भने । किसानले गत वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएकामा यस वर्ष तीन हजार दुई सय दश हेक्टरमा मात्र खेती गरेका उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : २३ बजे

आदिवासी जनजातिको अधिकारको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई