१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे ।

“देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने ।

जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

“कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ”, अध्यक्ष प्रचण्डले भने, “सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।”

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष प्रचण्डले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाए । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो ।

सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे । “समान त्याग र बलिदान गरेका सपुतहरू एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्”, उनले भने, “त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ ।”

उनले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुले हेरिरहेको टिप्पणी गरे । सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै सशस्त्र युद्धको नेतृत्वकर्ता र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यो झुटो भएको बताए ।

‘१७ हजार प्लस दुई भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईं हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन, न लेख्ने न बोल्ने’, प्रचण्डले भने, ‘हिजो भए हामी सहन्थ्यौं त, के गर्थ्यौं, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौं ?’

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पु¥याउन आग्रह गर्दै उनले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए । शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे ।

नेपालको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि पनि अनुकरणीय रहेको उनले बताए ।

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले सहिदका सपना पूरा गर्न नेतृत्व र सिङ्गो पार्टी पङ्क्तिले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिँदै सहिदका बलिदानलाई आन्दोलनको वैचारिक केन्द्र बनाउनुपर्ने बताए । उनले मुलुकको परिवर्तनका लागि ज्यानको बाजी दिएका सहिदलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका सचिव एवं प्रतिष्ठानका पूर्वअध्यक्ष हितराज पाण्डेले सहिदका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्क्ति जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले सहिदको योगदान भावी पुस्ताका लागि ताजै राख्नका लागि सहिदका नाममा भौतिक संरचना निर्माण तथा अक्षय कोष खडा गर्नु उचित हुने धारणा राखे ।

बेपत्ता परिवार समाजका सल्लाहकार भीमबहादुर बस्नेतले जनयुद्धमा बेपत्ता भएका नागरिकको यथार्थ पत्ता लगाउन आग्रह गरे । उनले आफ्नो छोरा जनयुद्धका क्रममा बेपत्ता भएको जानकारी दिँदै बेपत्ता छोराको पत्ता नलगाई आफू नै बेपत्ता होइन्छ कि भन्ने लागेको गुनासो गरे ।

जनयुद्धका घाइते तथा बेपत्ता परिवार समाजका अध्यक्ष पासाङ शेर्पाले बेपत्ता नागरिकको अवस्था टुङ्गो नलाग्दा परिवारजनले कानुनी समस्या झेल्नु परेकातर्फ सरकारको ध्यानाकर्षण गराए । प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंले प्रतिष्ठानलाई एकताको केन्द्रबिन्दु बनाएर अगाडि बढाइने बताइन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : १७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान