३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

प्रधानमन्त्री प्रचण्डद्वारा विज्ञहरुसँग छलफल : बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताए ।

हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको जिकिर गरे। सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा उनको जोड थियो ।

छलफलका क्रममा विषयगत विज्ञहरुले उठाएका विषयहरु महत्वपूर्ण रहेको बताउँदै उनले नीति, कार्यक्रम र बजेटको नीति, ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रिया अन्तर्गत नै छलफल आयोजना गरेको बताए। “सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ ।” उनले भने, “यसपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव संकेन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसदमा पढ्नुहुन्छ ।”

देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसंगबारे चर्चा गर्दै उनले संकटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको बताए । “म संकटको बेला प्रधानमन्त्री भएँ । देशलाई संकटबाट मुक्त गर्न मैले लगातार कोशिस गरिरहेको छु ।” उनको भनाई थियो, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।”

राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’मा बिभिन्न क्षेत्रका विज्ञहरुले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिएका थिए। कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उत्पादन र रोजगारी बढायो भने अर्थतन्त्रका धेरै समस्या सम्बोधन हुने भएकोले यो विषयलाई केन्द्रमा राखेर सोह्रौं योजनाको मस्यौदा तयार भइरहेको जानकारी दिएका थिए । सुशासन कायम गर्न सकियो भने थोरै स्रोतबाट पनि धेरै काम गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा विज्ञहरुले योजना छनोट प्रक्रिया हचुवा र पहुँचमुखी हुने कुरा रोक्नुपर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना निर्माण गर्नुपर्ने, व्यापार, वित्त र विनिमयको उदारीकरणको चपेटामा पर्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच कसरी पु¥याउनेतर्फ सोच्नुपर्नेमा जोड दिए। यसैगरी वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई योजनामा प्राथमिकता दिनुपर्ने र “ग्रीन इकोनोमी”लाई एको–टुरिज्ममा लैजानुपर्ने सुझाव समेत उनीहरुको थियो ।

छलफलका क्रममा विज्ञहरुले कृषि र उद्योगको योगदान खुम्चिने परिस्थितिमा सुधार ल्याउनुपर्ने, नीति र कार्यक्रमबीचको बिरोधाभाष अन्त्य गर्नुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको लागत बढ्दै जाने परिस्थिति रोक्नुपर्ने तथा कृषिमा आत्मनिर्भरताको योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । राष्ट्रिय योजना आयोगलाई सङ्घीय योजना आयोगमा पुनर्संरचना गर्नुपर्ने सुझाव दिए

कार्यक्रममा विज्ञहरुले सडकहरू मान्छे मार्ने धराप बनेको बताउँदै सुरूङमार्गमा जोड दिनुपर्ने समेत बताए। यसैगरी शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको हबका रुपमा नेपाललाई विकास गर्ने विषय समेत आगामी योजनामा समावेश हुनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी विज्ञहरुले विकासका प्रमुख आधार यकीन गरी पूँजिगत खर्च बृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका थिए । अहिलेको मुल समस्या नै सुशासन कायम हुन नसक्नु भएकोले सुशासनमा संरचनागत परिवर्तन गर्नुपर्ने, राजनीतिक दवावमा योजना छनोट हुने प्रक्रिया रोकिनुपर्ने र तल्लो तहलाई अधिकार बढी दिनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा विज्ञहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : १७ बजे

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४०

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर । हेटौँडा-वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

ग्वार्को फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको मुख्य संरचना निर्माण सम्पन्न