१५ फाल्गुन २०८०, मंगलबार | February 27, 2024

गणेश जीसीको ‘मृत्युफूल’ कथासङ्ग्रहको समीक्षा



नेपालगन्ज । वि.सं. २००५ मा दैलेखमा जन्मी र बाँकेको फुल्टेक्रालाई कर्मथलो बनाउनु भएका गणेशबहादुर जि.सी.लाई उहाँको कृति ‘मृत्युफूल’ कथासङ्ग्रह अध्ययन गर्दा नजिकबाट चिन्ने अवसर प्राप्त गरे । मूलतः आख्यानको क्षेत्रमा सक्रिय गणेश जि.सी.को ‘सम्झौता र अज्ञान’ ‘अनाथिनी’ दुई उपन्यास, ‘मङ्गलचा (खण्डकाव्य), सहरभित्र हराएको मान्छे (कवितासङ्ग्रह), र कुन्दन (कथासङ्ग्रह) तथा हाइकु कथासङ्ग्रह गरी ६ थान कृतिहरु प्रकाशित छन् । प्रस्तुत मृत्युफूल उहाँको सातौँ कृति हो । पत्रकारितामा समेत क्रियाशील जि.सी.का कुशवडिया र अन्य लोपोन्मुख जातजाति सम्बन्धी खोजमूलक कृतिहरु पनि प्रकाशित छन् । नाटक क्षेत्रमा पनि उहाँको उत्तिकै योगदान रहेको छ । उहाँका केही नाटकहरु श्रव्यदृश्य सामग्रीको रुपमा प्रशारण पनि भएका छन् ।

– गीता अर्याल,समिक्षक

बन्दुक भिर्ने सैनिक सेवाबाट निवृत्त हुनासाथ कलमवाज बनेका कथाकारको मुत्युफूल कथासङ्ग्रहको बाहिरी आवरण हेर्दा आकर्षक र स्तरीय छ । हल्का निलो पृष्ठभूमिमा ठूलो अक्षरमा मृत्युफूल लेखिएको छ । बिच भागमा महिलाको पाठेघर जस्तो देखिने चित्र छ । जसको दुबै तर्फ दुईजना युगल जोडिको जस्तो चित्र नाक, घाटी देखिन्छ । मानवको जन्म स्त्री र पुरुषको मिलनबाट हुने कुरा चित्रले बताउन खोजेको मैले अनुभव गरे । मानिसको जन्म संयोगले हुन्छ तर मृत्यु सत्य हुन्छ । मृत्युको कुनै समय हुँदैन् । जुनसुकै समयमामानिस मृत्युफूल टिपेर उड्न सक्छ । तसर्थ हामी जति दिन बाच्छौँ, त्यो समयलाई उपलब्धिमूलक बनाउँ, असल कर्म गरौँ, अरुको लागि केही गरौँ भन्ने भाव शीर्षकबाट झल्किन्छ । क्रमशः अन्य पृष्ठमा मृत्युफूल शीर्षक, लेखकको नाम, प्रकाशक, संस्करण, आवरण÷लेआउटका साथै लगत्तै अर्को पानामा कथाक्रम उल्लेख छन् । अन्तिम पृष्ठको भित्री भागमा लेखकको श्यामश्वेत फोटो र बाहिरी भागमा लेखक र मृत्युफूल चिनाउने साहित्यकार रेशम विरहीको अभिव्यक्ति छन् ।

आन्तरिक पक्षलाई नियाल्दामृत्युफूलमा २४ वटा कथाहरु संकलित छन् जसमा त्रिगुण पूर्वीय दर्शन, भागवत गीताबाट प्राप्त दर्शन र त्यसमा श्रृष्टी सञ्चालन गर्ने सत्व, रज र तम गुणबारे चर्चा गरेको पाइन्छ । यहाँ युवक र युवतीबिच संवादात्मक शैलीमा आ–आफ्नो गुणको विशेषता बुझाएको सन्दर्भ प्रस्तुत छ । जीवन र जगत सन्चालन गर्ने क्रममा सकारात्मक अथवा उज्यालो पक्ष मात्र होइन्, अध्यारो पक्षको पनि जरुरी हुन्छ । यदि अध्यारो, सत्य, अधम, तुच्छ नभए सत्यता र उच्चताको मूल्याङ्कन हुन सक्तैन् । यीनै खराब र अध्यारो पक्षलाई अगाँल्दा खाएका ठक्करबाट मान्छेहरु माझिने वा परिस्कृत हुन्छन भन्दै सत्वलाई सचेतना, बुद्धी, सत्यको रुपमा रजगुण सत्वकै सहयोगी, सत्यले मानिसलाई सृजनशील बनाउने, आलस्यलाई भगाउने र तम ‘म मान्छेलाई काम नलाग्ने, अल्छी र खराब भए पनि श्रृष्टिका लागि कामयाव छु’ किनभने मलाइ अगालेर हिंडेका मानिसहरुले कुनै बेला ठक्कर खाइ पुनः उज्यालो तर्फ फर्कन सक्छन् भन्ने विषयवस्तु प्रस्तुत गरी श्रृष्टि सिर्जनामा यी तिनै गुणको आवश्यकता छ भन्ने पक्षलाई उजागर गर्न खोजिएको छ । श्रृष्टिका यस्ता गुण वा भावलाई पनि मानिसले जस्तै बोलेर संवादात्मक रुपमा प्रस्तुत गर्नु कथाकारको खुबी हो । त्यसैगरी सुनको पिँजडा, कन्टेनरको आभा, उत्तरार्धको यात्रा, सुशिलाको दिवा स्वप्ना, गहना कथाहरु सामाजिक यथार्थता चित्रण गरेका कथाहरु
हुन् ।

सुनका पिँजडा कथाले तराईमा बसोबास गर्ने अवधि भाषी समुदाय, त्यस समुदायका छोरीलाई हेर्ने दृष्टिकोण, तिलक र विवाहका नाममा रहेको दाइजो प्रथा, विहेपश्चात पढेलेखेको भए पनि परिवारले हेर्ने दृष्टि, सुन र श्रृङ्गारमा सजिएर चार दिवार भित्र बस्नु पर्ने बाध्यात्मक परिवेशलाई संकेत गरिएको छ । आफ्नो अधिकारका लागि आफै जागरुक हुने सन्देश दिन सपनामा पूर्व प्रेमीलाई ल्याइ अब आफ्नोलागि आफै संघर्ष गर्नु पर्दछ, तोड तिम्रा बन्धनहरु भनेपछि सुनिताले सामाजिक कुसंस्कार र बन्धनहरु तोड्दै नारी मुक्तिका लागि ठूलो क्रान्ति स्वरुप घरबाट निस्केर हिँडेको कुरालाई प्रस्तुत गरिएको छ । उहाँभित्र नारीवादी चिन्तन, महिला मुक्तिका आवाजहरु उठ्नु पर्ने र समाजमा परिवर्तन हुनु पर्ने दृष्टिकोण पाइन्छ । उहाँका धेरै कथाहरु प्रगतिशील नै छन् । उत्तरार्धको यात्रा कथामा पनि समाजमा घट्ने र घटेका वास्तविक घटनालाई नै विषयवस्तु बनाइएको छ । मानव जीवनमा सबैभन्दा कष्टकर समय वृद्धा अवस्था हो । जीवनको उत्तरार्धमा पुग्दा बृद्धबृद्धाहरु कसरी अपहेलित हुन्छन्, तिरस्कृत हुन्छन् र बृद्धाश्रमको ढोकामा बजारिन पुग्छन् भन्ने कारुणिक विषयवस्तु प्रस्तुत छ । कुलप्रसाद जस्ता तमाम जोडी मर्ने बेलामा चाहेर पनि घर बस्न पाएका छैनन् । सन्तानले शिक्षा प्राप्त गरे, बुहारी शिक्षित पाए भनेर नकुर्ल, आजको शिक्षामा नैतिकता हराएको छ, सन्तानमा अभिभावक प्रतिको दायित्व बोध छैन, न अनुशासन देखिन्छ, न त मनमा हरि नै छ । कुल प्रसादले तिन भाई छोरा र बुहारी त प्राप्त गरे तर घरमा स्थान पाउन सकेनन् । यो आजको यथार्थता हो भन्दै सबैलाई नैतिकवान बन्नकको निम्ति आव्हान गर्नु भएको छ । गहना कथाले पनि हाम्रै समाजमा देखा परेको अनावश्यक होडबाजी, ऋण काढेर देखाउनकै लागि किनिएका गहना, त्यै गहना किन्दा लागेको चक्रवर्ती व्याजले डुवाएको आर्थिक अवस्था र अन्तमा त्यही पीरले श्रीमानको ज्यान गएको घटना प्रस्तुत छ ।

सुद्धिलाई समालेर बुद्धिले काम गरौँ, समाजमा उदाहरणीय कार्य गरौँ, निराशामा हैन आशामा बाँचौँ भन्ने आशावादी सोँच पनि मुखरित छ । कन्टेनरको आभा कथा पनि समाजमा घटने र घटेका वास्तविक घटना नै हो । यो एउटा विकृति र विसङ्गतिको उदाहरण पनि हो । विभिन्न अनैतिक क्रियाकलाप र त्यसले निम्त्याएको अनैतिक सम्बन्ध कन्टेनरमा गएर समाप्त हुन्छन् । यसरी फालिएका सम्बन्धहरुमा भोलिको उज्यालो किरण पनि हुन सक्छ । तसर्थ त्यस्ता सम्बन्धहरुलाई मानवीय नाताले उद्धार गर्नु जरुरी छ । फोहर हिलोमा पनि सुन्दर कमल फुल्न सक्छ । त्यस्तै यस्ता सम्बन्धबाट जन्मेका बच्चा पनि भोलिका होनाहार जनशक्ति बन्न सक्ने कुरा देखाउन कन्टेनरमा फालिएको बच्चालाई उद्धार गरेर डाक्टर बनाइ मानवीय सेवामा समर्पित भएको देखाउनु यस कथाको उद्देश्य हो । यो कथा अत्यन्त उत्कृष्ट कथा लाग्यो ।

एकाकार जीवनको प्रेमिलो अध्याय कथामा समाज रुपान्तरणका लागि विवेद हटाउन जरुरी छ । जात र वर्गका दृष्टिले विभेद गर्नु समाज अगाडि बढ्ने संकेत होइन । प्रेम दुई आत्मा बिचको मिलन र स्वीकारोक्ति हो । यस्ता कुरामा बहस गर्नु, अवरोध सिर्जना गर्नु प्रगति होइन दुर्गति हो । तसर्थ यस्ता कुरालाई तोड्दै अगाडि बढ्नु पर्छ भन्ने प्रगतिशिल विचार यसमा पाइन्छ । काल माक्र्सले प्रतिपादन गरेको माक्र्सवादी दर्शनबाट प्रभावित उहाँका धेरैजसो कथाहरुमध्ये यो पनि एक हो । भेद, अन्याय, दासत्व, विग्रह, अशान्तिले समाज बन्न सक्दैन । त्यसकारण समाजवादको स्थापना गर्दै समतामूलक समाजको निर्माण गर्न साम्यवादलाई मूर्तता दिन क्षेत्री र व्राम्हण बिच स्कुलकै कक्षा कोठामा अन्तरजातिय विवाह गराएर परिवर्तनको संकेत दिने गणेश जि.सी.मा माक्र्सवादी दर्शन र यस भित्रका विभिन्न आयामहरुको राम्रो ज्ञान छ भन्ने अनुमान यस कथाबाट गर्न सकिन्छ ।

माटोको माया कथा राष्ट्रप्रेमले भरिएको कथा हो । यस कथामा सामाजिक यथार्थलाई उजागर गरिएको छ । पैसा कमाउन विदेशी भूमिमा जाने वाध्यात्मक अवस्था, गैर नागरिक भएर त्यहाँ काम गर्दा पाउने दुःख, बिना गल्ती जेलमा सड्नु पर्ने विवशता कथाले समेटेको छ । लामो जेल जीवनबाट फर्किदा परिवार पनि नरहेको र आफूले सम्पत्ति पनि कमाउन नसकेको कुरा चरितार्थ गरिएको छ । प्राण त्याग गर्न भए पनि अन्तिम समयमा आफ्नै भूमि र आफन्त जलेका घाटमा जल्ने इच्छा पुरा गर्न जन्मभूमि फर्केको कुरा कथाले समातेको छ । साथै नेपालीको विवशता र वाध्यता, आर्थिक उपार्जनका लागि कहिलेसम्म विदेशमा भन्ने प्रश्न माटो कथाले तेस्र्याएको छ । यही माटो कथामा विकासका नाममा भएका विनाशले हाम्रो परम्परा, चौतारो कुवा, मठमन्दिर, धारो, जङ्गल विनाश भएको तर्फ समेत कथाकारको गुनासो भेटिन्छ । एउटै कथा भित्र पनि विभिन्न पाटाहरुलाई देखाउन सक्नु कथाकारको क्षमता हो ।

अर्को कथा सुशिलाको दिवा स्वप्नामा तिर्थेजस्ता यौनप्यासी पुरुषले महिलालाई कसरी खेलौना बनाउछन् र जीवन वर्बाद गरी भाग्छन् भन्ने समाजमा घटेका विषयवस्तुलाई आधार बनाइएको छ । गर्भवती समेत बनाएर बाटो फेरी हिँड्ने यस्ता पुरुषलाई कुनै पनि हालतमा छोड्न नहुने सन्देश कथाले दिएको छ । अनैतिक सम्बन्धबाट जन्मेकी छोरीलाई असल व्यक्ति बनाउने आशामा सङ्घर्ष गरीरहेकी सुशिला बहादुर छोरी र असल आमाको रुपमा एक्लै कर्तव्य पुरा गरिरहेकी छ । सुशिलाले त्यही छोरीलाई भोलि द्रव्यपिचास वकिल नभई कानुनी पेसालाई तराजुमा राखेर निसाफ गर्ने न्यायमूर्ति बनाउने स्वप्ना साँचेको कथावस्तु रहेको छ ।

अभिशप्त जीन्दगी कथामा राजनीतिक सन्दर्भ र यसले निम्त्याएको विषयवस्तु रहेको छ । प्रतिक्रियावादीको सुराकी गरेको र चन्दा नदिएको आरोपमा मारिएका शिक्षक रोशन र त्यसपछि परिवारले भोगेको कष्टदायी जीवन यात्रा यसमा रहेको छ । हिजो परिवर्तनका नाममा निर्दोष शिक्षकलाई मार्ने कार्य जस्ले गरेता पनि त्यो जायज थिएन । त्यसले एउटा परिवारलाई कुन अवस्थामा पु¥यायो, त्यो खोजी भएन् । व्यक्तिगत लाभ प्राप्त गर्नेले ठूलै प्राप्त गरे तर कतिपय निर्दोष व्यक्तिका परिवारले राज्यबाट केही प्राप्त गर्नु त परै जावोस्, जीवन रक्सी बनाउने भाँडो माझ्दै बित्यो तर भद्रा जस्ता पीडित व्यक्तिहरुको दिन कहिल्यै आएन । आज भद्रालाई समाजमा रहेका बहुरङ्गी अनुहारहरु देख्दा घृणा लाग्छ, आत्म ग्लानी भइरहेको छ ।

मिलन, प्रेमले तोडेको सीमा रेखा कथामा पात्रहरुका बिच अन्तरजातिय विबाह गराइ समाज परिवर्तनको दिप बालिएको छ । सदियौँ देखि जरो गाडेको अभिजात्य वर्गले तल्लो वर्गलाई सधै उत्पीडित बनाएको अवस्थामा अब सहअस्तित्वको खोजी, हक अधिकारको खोजी गरेर ढोका हल्लाएकै छन् । यसको प्रमाण पेश गर्दै कथित डुम भनिने दलित र ब्राम्हण उच्च जातकी केटीका बिच बौद्धिक चिन्तन, यथास्थिति भन्दा भिन्न नयाँ धार चाहने प्रगतिशिल विचार धाराको अध्ययन, विद्यार्थी राजनीतिमा अनेरास्ववियूको छाताभित्र आरनमा फलाम तताए झै तताएर वास्तविकताको बोध गराइ जातिवादी साङ्गलो चिर्दै प्रगतिशील बिचारधारलाई जित गराउनु भएको छ । अबको राज्यमा जनवादी व्यवस्था हुनु पर्ने, जात, लिङ्ग, रङ्ग र वर्ग भन्दा माथि भेदभाव रहित वर्गविहिन समाजवादी राज्य प्रणाली हुनु पर्ने र साम्यवादी विचारलाई मूर्तरुप दिने कुराका संकेत कथाले गरेको छ ।

मृत्युफूलमा प्रकृतिको दुरुह विधान, जन्मसँगै मृत्युको टिकट भिराइदिने सत्यतालाई कथाले समेटेको छ । हर कोही मृत्युरुपी फूल टिपेर जानु पर्ने कुरालाई कथाकारले संकेत गर्दै जन्मी सकेपछि राम्रो कर्म गरौँ भन्ने सन्देश दिन खोजेका छन् । यसैगरी अनुराधा कथामा गाउँको सामन्ती सत्ताको स्वयं स्वैच्छाचारी र राजनीतिक, सामाजिक, आर्थिक दुर्गति जनताले सहनु परेको अवस्था, विभेद सहनु हुँदैन भन्दै अन्याय र अत्याचारका विरोधमा ज्यान बलिदान गरेका सहिदको स्मरण गर्दै लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउनका लागि सचेत वर्गले ठूलो त्याग गरेको, सुन्दरलाल र विनोद जस्ता युवाहरु सहिद भएर आफ्नो नाम इतिहासमा लेखाएको तर उनका परिवार अनुराधा जस्ता पात्रहरु माइतीका पिंढी र अरुका मेलामा जीवन व्यतित गरिरहेको सन्दर्भलाई उजागर गरी सहिदलाई सम्मान गरौँ, सहिद परिवारको योगदानको कदर गरौँ भन्ने सन्देश दिन खोज्नु भएको छ । हाट, रामभरोसेको सपना, पवित्रा, परिवर्तन, सूर्यबहादुर उर्फ आलोक, चुनाव कथाहरु पनि राजनीतिक विषयबस्तुहरु भित्र रहेर परिवर्तनका आवाज बोकेका कथाहरु हुन् । यी कथाहरुले कतै अन्तरजातीय विवाह गरी समाजका बन्धनहरु तोडेर परिवर्तनको संकेत दिएका छन् । परिवर्तन भयो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर रामभरोसेका दिन आएनन् । परिवर्तनले खोजेको बाटोमा नेताहरु हिंड्न सकेनन् । गरिब र दुःखीका दिन चुनावका चार÷पाँच दिन मात्र आए ।यसपछि रामभरोसे जस्ता गरिबका दिन आउन अर्को चुनाव पर्खनै पर्ने व्यङ्य कथाले गरेको छ । बाटोघाटो बनाउने, गास, बास दिने कुरा नारार्म सीमित भए । अन्ततः रामभरोसेको परिवार बाढी र झरीलाई थेग्न नसकी गल्र्यामगुर्लुम ढलेर मरे । अर्कोचुनावको चार÷पाँच दिनको आनन्दलाई भेटाउन सकेनन् ।

सामाजिक रुपान्तरण, आर्थिक उत्थान गरि दिने, डुबान नहुने बन्दोवस्त गरि दिन्छु भन्नेहरु चुनावसँगै अस्ताए । समाजलाई कायापलट गर्न सक्छु भन्दै सूर्यबहादुर क्रान्तिकारी नाम आलोकमा परिवर्तन भई पार्टीमा १० बर्ष योगदान गरेको बिषयवस्तुलाई जोडी राजनीतिमा इमान्दारीता र दक्षलाई सम्मान गर्न नसक्ने संस्कृति हाबी भएको, आलोक जस्ता पार्टीको नीति र विधि मान्नेलाई सधै पछि पारिने तितो यथार्थ प्रस्तुत छ । दशौँ बर्ष गास, बास, शिक्षा, स्वास्थ्य र समानताका लागि लडेका सूर्य बहादुर सबै साथीहरुले जीवनस्तर सुधार गरेर हिंडि रहँदा उ इमान्दार कार्यकर्ता दुलहीको उपचार समेत गर्न नसक्दा ठूलो पश्चाताप गरेको कुरा कथामा व्यक्त छ । आफ्नो दिमाग घुमाएर आफूद्वारा अरुलाई बाडिएको समाजवादको मन्त्रणाले आत्मग्लानी भएको छ । हाइ कमाण्डर संसदीय सत्ताको शिखरमा चढेर दङ्ग परेको परिवेशलाई सूर्यबहादुरले दुलहीलाई एउटा गोली औषधी खुवाउन नसकेको अवस्थामा कथाले प्रश्न गरेको छ । ‘खै समानता? खै समाज रुपान्तरण? खै उत्पादनमा सामूहिकरण? खै अर्थतन्त्र, उत्पादन र वितरणमा समानता? खै समाजवादी र तिम्रो साम्यवादी दर्शन?’आज यी शब्दहरुले गिज्याइरहेका छन् । महत्वकांक्षा र पवित्रा कथा लोक कथाहरु हुन् । यी कथाले पनि हिजोको नरेशको तानाशाही र अत्याचारी प्रवृत्तिको विरोध गर्दै पवित्रा र उसको परिवार लगायत सबेले आन्दोलन गरेर अन्ततः तानाशाही व्यवस्था ढाल्न सफल भई सार्वभौम अधिकार सम्पन्न बन्न, समाजवादी शासन व्यवस्था ल्याउन सफल रहेको र जनताले राहत प्राप्त गरेको कुरालाई प्रस्तुत गरिएको छ ।

समग्रमा गणेश जि.सी.का कथाहरुमा विविधता त छ नै । प्रगतिशिल विचारबाट प्रेरित उहाँका कथाहरुमा सामाजिक यथार्थता, राजनीतिक बिषयवस्तु, तितो यथार्थता प्र्रति व्यङ्ग्य हुनुका साथै प्रकृतिलाई बचाउनु पर्ने आशयको एउटा प्रतिनिधि कथा पनि रहेको छ । निश्चित स्थान र निश्चित समयमा सम्पन्न पात्रका क्रियाकलाप, कार्य वा पात्र सम्बद्ध घटनाको समष्टी कथा मिलेको पाइन्छ ।

यस कथासङ्ग्रहमा कथाले मागेअनुसार पात्र वा चरित्र देखिन्छन् । भूमिका अनुसार कोही प्रमुख पात्र र कोही सहायक पात्रहरु छन् जस्तै एकाकार जीवनको अध्यायमा कमल र शुभद्रा, रामभरोसे कथाको रामभरोसे, सूर्यबहादुर उर्फ आलोक कथाको सूर्यबहादुर र सुकमाया प्रमुख पात्र हुन् । एकाकार जीवनको अध्यायका गुरुजी र साथीहरु सहायक पात्रहरु हुन् । त्यस्तै सत् र असत् पात्रहरु पनि कथामा देखिन्छन् । उत्तरार्धको यात्रामा कुलप्रसाद, शैलेश्वरी सत् पात्र र छोरा भिम प्रसाद, अरुण र वरुण असत् पात्र हुन् जसले बाबु, आमालाई गर्ने व्यवहार अत्यन्त निकृष्ट छ । सुशिलाको दिवा सपनामा सुशिला सत् पात्र र तर्थे ड्राइभर असत पात्र हो जसले सुशिलालाई अस्तित्व लुटी गर्भवती बनाएर हिंडेको छ । पात्रगत हिसाबले हेर्दा पुरुष र महिला दुबैको बरावर भूमिका छ ।

कथाले मागेअनुसार परिवेश पनि मिलेको देखिन्छ । नेपालको पश्चिम तराईका भूभाग, दैलेखको पहाडी परिवेश, भारतको सिम्ला, खाडी मुलुकको परिवेश, काठमाडौँ सेरोफेरो, रुसको विकास, त्यहाँको आर्थिक क्रान्ति, असल योजनाहरुको चित्रलाई पनि वर्णन गरिएको छ । हिजोको दिनमा सामन्तहरुको बोलवाला, तल्लो वर्गलाई गरिने थिचोमिचो, हाम्रा समाजका चालचलन, धार्मिक, साँस्कृतिक संस्कार, चालचलन, भेषभूषा, आदिको अवस्था परिवर्तनका लागि भएका भूमिगत आन्दोलन, त्यसवेलाको परिवेशलाई कथाले लिएको छ । यसरी हेर्दा परिवेशगत व्यापकता कथाले मागेअनुसार देखिएको छ ।

कथामा कथाकारले विचार, भावना कसरी पाठकसमक्षा प्रस्तुत गर्दछ भन्ने कुरा दृष्टिविन्दुमा पर्दछ । कथाकारले प्रथम र तृतीय दृष्टिविन्दुमा आधारित रहेर कथाहरु सिर्जना गर्नु भएको छ । एकाकार जीवनको प्रेमिलो अध्याय, मिलन, अकल्पनीय प्रेम जस्ता कथा प्रथम पुरुष र बाँकी तृतीय पुरुषका दृष्टिविन्दुमा लेखिएका छन् । कथाकारले प्रस्तुत गरेको शैली सम्वादात्मक छन् । कतिपय कथामा त पात्रहरुको संवाद संगितात्मक र कवितात्मक पनि छ जसले कथालाई रोचक बनाएको छ । रामभरोसे कथामा,

‘रोपेन बीज, रोपेन बिरुवा,
आलासिवा मनै सबकुछ हरुवा ।
कर्मसे खाओ, बुद्धिसे जिओ
बद्लती दुनियाँको खुब समझकर बदलो ।।

त्यस्तै अकल्पनीय प्रेममा म पात्रले नेपथ्यबाट गीती लयमा,
मिनाक्षी आँखामाथि गाजलुको घेरा,
नागबेली चुल्ठो अघि शिरुपाते ओठ तिम्रा ।
फूलैफूलको बाटिकामा नयनतारा हाम्रा
अरुथोक किन चाहियो मन गडेका राम्रा ।।

जस्ता संवादहरु गराएर कथा रोचक बनाइएका छन् । भाषामा विविधता पाइन्छ । अवधि, कर्णालीमा बोलिने खस भाषाको प्रयोग भएका छन् । खस भाषाको कुरा गर्दा ‘मुइसँ जियाका राख्न, दियाओ, थोक्का पुइसाँ छन् कानओ सुन ढुङ्ग्री, माडवारी ल्याउकी छु, केही दिनकन भै जाला’ प्रयोग भएको पाइन्छ । कथामा विभिन्न उखान टुक्काको प्रयोग, अनुकरणात्मक शब्द चयनले सुनका सुगन्ध थपेका छन् । ‘चुत्थो कामको चुत्थो काइदा, चोक्टा आन खोज्दा झोलमा डुबी जस्ता उखान, घुँइचो लाग्नु, हल्लीखल्ली गर्नु जस्ता टुक्काको प्रयोग खुरुक्क, टपक्क जस्ता अनुकरणात्मक शब्दको प्रयोग भएका छन् । लेखकले कथा लेख्दा स्तरीय नेपालीका अतिरिक्त स्थानीय भाषाहरुको प्रयोग पनि ठाउँ ठाउँमा गरेका छन् । ती शब्द वा अनुच्छेदको नेपाली अनुवाद गरि दिएको भए पाठकलाई सजिलो हुने थियो । पदचाप, नूर जस्ताशब्दहरु पटक पटक दोहोरिएका छन् । यीनको सट्टामा पर्यायवाची अरु शब्द प्रयोग गरेको भए अझ राम्रो हुन्थ्यो । भाषा धेरै आलाङ्कारिक बनाउनु भन्दा सरल र स्पष्ट वाक्य गठनमा जोड दिंदा अझ राम्रो, कतिपय वाक्य गठनमा पदक्रम नमिलेका, क्रियापद बिना वाक्यहरु टुङ्गिएका पाइन्छन् । जस्तै गतिशिल समय । यौनपूर्ण दाम्पत्य सम्बन्धको प्रेमिल चरण । सन्तान प्रतिको अनन्य माया, ममता, मोह, करुणा, जन्म दिने बाबुर धारण गर्ने आमाको लागि ह्ृदयमा अटल रहने प्राकृतिक गुण ।

कुनै पनि बिषयबस्तु पढ्दा सर्र बुझ्ने हुनु पर्दछ । सुशिलाको दिवा सपना कथामा क्रमशः अगाडि बढेको कथालाई क्रम भङ्ग गरी सपना १, २, ३ गरी पुनः घटनाक्रमलाई अघि फर्काएर घटनाको विन्यास क्रम नमिल्ने अवस्था रहेकाले परावर्तित कथा रेखा रहेको पाइन्छ । यस्तो प्रस्तुतीले सामान्य पाठकलाई बुझ्न गाह्रो हुन्छ । समिक्षकले त समीक्षाका लागि पटक पटक पढ्ला तर एउटा पाठकले कथाको रस नबुझ्दा एक नजरमै लेखकको अवमूल्यन गरि दिन सक्छ । पुरै कथाहरु नपढ्ने अवस्था स्वयं सिर्जना गरेको कथाकारलाई नै आरोप लगाएर पुस्तक थन्काउन सक्ने देखिन्छ । सामान्य पाठकले पनि कृतिको रस चाख्न सक्ने बनाउनु पर्दछ । समग्रमा भाषा सलल्ल बग्नु पर्दछ । तर पनि भाषामा प्रशस्त विम्ब र प्रतिकहरुको प्रयोग, धार्मिक मिथक बुद्ध, कृष्ण, राम, सावरी जस्ता मिथकलाई अगाडि ल्याई उदाहरण पेश गरिएको छ । गद्यात्यक भाषामा पनि लयात्मकता पाइन्छ । अन्त्यानुप्रास मिलेका वाक्यहरु देख्रिन्छन् । काव्यात्मक भाषाको प्रयोग छ । पत्रात्मक संवादको प्रयोग छ । वीर रस र करुण रसको प्रयोग धेरै रहेता पनि अन्य रसहरुले पनि प्राथमिकता पाएकै छन् ।

यी कथाहरुको उद्देश्य समाजका विविध पक्षलाई देखाउनु रहेको छ । महिला मुक्तिका आवाज बुलन्द गर्नु, समाजमा विगत र वर्तमानमा घटेका घटना, अवस्था र परिवेशको वर्णन गर्नु, मानव अस्तित्वका लागि आवाज उठाउनु, न्यायमूलक समाजको निर्माण, जातिय विभेदको अन्त, विकृति र विसङ्गतिको व्यङ्ग्यात्मक प्रस्तुति गर्दै सुधारको सन्देश दिनु, प्रगतिशिल विचारहरु प्र्रस्तुत गर्नु रहेको पाइन्छ । राजनीतिक व्यवस्था हाम्रो देशको खहरे खोलामा माछा मारे झै बेला बेलामा आउने चुनाव, त्यो चुनावरुपी भेलमा माछा मार्ने नेताहरुको नियतर जितेर गइ सकेपछि ति नेताले चलाएको शासन व्यवस्था प्रति जनतालाई सुसूचित गर्ने कथाहरुको उद्देश्य समेत रहेको छ । विगत र वर्तमानका सामाजिक, आर्थिक, राजीतिक, सांस्कृतिक र प्राकृतिक अवस्थाको चित्रण गर्नु पनि अर्को उद्देश्य रहेको छ । धेरैजसो कथाहरुउस्तै उस्तै प्रकृतिका रहेका छन् । खासगरी राजनीतिक विषयवस्तुका कथाहरु धेरै छन् । हुन त उहाँका कथाले इतिहास र विगतका केही सन्दर्भलाई छोएको छ तर वर्तमान अवस्थाका ज्ञान, विज्ञान, प्रविधि, वातावरण, मौसममा भएका अस्वाभाविक परिवर्तन, युवा शक्ति पलायन, युवा शक्तिलाई रोक्नका लागि गर्न सकिने पहल र बढ्दो साइबर आपराध कम गर्ने जस्ता विषयमा कथाकार मौन रहनुले विगतमा भुलेको र वर्तमान नबुझेको जस्तो भान हुन्छ । तर पनि यो कृति भोलीको पुस्ताका लागि इतिहास हुनेछ । यसले विगतको अवस्था बुझाउने छ र भविष्यका लागि मार्गदर्शन गर्नेछ । नेपाली साहित्य र जगतका लागि महत्वपूर्ण दस्तावेज बन्नेछ । राजनीतिज्ञहरुका लागि यो शिक्षाप्रद हुनेछ । यसर्थमा यो कृति महत्वपूर्ण लाग्दछ । यो मेरो दृष्टिकोण हो । मेरो बिचार हो । नजरले देखेको हेराइ हो । कृति सबैका साथमा छ । अध्ययन गरेर लेखकलाई प्रतिक्रिया दिन यहाँहरु सबैलाई अनुरोध छ । सिकौँ, सिकाऔँ, पोख्त कोही छैन र हुन सक्दैन् ।

अन्तमा, लेखकको सुस्वास्थ्यको कामना गर्दै अझै धेरै लामो समयसम्म यहाँको कलम निरन्तर चलोस् ! शुभकामना !!

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : २१ बजे

कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन : सांसद प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र

बारा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

बारा । बाराको निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज

उपप्रमुख सञ्जालको सातौँ बैठक सम्पन्न : संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौं । काठमाडौं उपत्यकाको स्थानीय तह उपप्रमुख/उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

काठमाडौं । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीत सम्राटका रुपमा सम्झिने

आज ४२ औँ मगर एकता दिवस मनाइँदै

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर