२० बैशाख २०८१, बिहिबार | May 2, 2024

मानुङकोटको खानेपानी समस्या समाधान हुँदै



तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालिएको बताए । उनले भने, “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ।”

व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने जानकारी दिए । उनले भने, “करिब छ-सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौँ । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ । समन्वय गरिरहेका छौँ ।” पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ ।

यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ । मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा थिए । मत्स्यगन्धासँगको प्रेमलीला अरुले नदेखुन् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको कथनसमेत रहिआएको छ । मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ ।

यसका साथै रमणीय हरियाली वनजङ्गल देखिन्छन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोटको फेदीतर्फ झरे । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ ।

विगतमा करिब ५०-६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन् । तर पानीको अभाव कहिले पूर्ति हुन्छ भनेर अपेक्षामा रहेका होटल व्यवसायी खानेपानी ट्याङ्की बन्न लागेपछि खुसी छाएको व्यवसायी चुडामणि दाहालले बताए । उनले भने, “सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या हल नहुँदासम्म सकस नै रहेको छ । अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।” योजना निर्माणको काम हुने अवस्था पुगेकाले अब छिट्टै सहजता कायम हुने पूर्वजनप्रतिनिधिसमेत रहेका दाहालले बताए ।

यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन् । मानुङकोटबाट धवलागिरि, माछापुच्छे«, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

यी मनोरम दृश्यालोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका यहाँका स्थानीय गाउँ फर्किन थालेका हुन् । पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन् । मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ५६ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक