१६ माघ २०८२, शुक्रबार | January 30, 2026

देवदह नगरपालिकामा तालाबन्दी : पालिकामा तोडफोड गर्दै हुलहुज्जत गर्नेमाथि कानूनी कारवाहीको दायरामा ल्याउन माग



बुटवल ।  रुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

नगरपालिकाले मंगलबार बिहान पत्रकार सम्मेलन गरी नगर प्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नवीनतम् कामलाई प्रभावित पार्न आक्रमण गरिएको जनाएको हो । हातपातको प्रयास गर्नेलाई कानूनी उपचारमा ल्याउन पनि नगरपालिकाले माग गरेको हो ।

नगरको खेलकुद संयोजकको विषयलाई लिएर देवदहमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सोमबार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोड गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

नगरपालिकाका प्रवक्ता रमेश डुम्रेले तोडफोड गर्दै तालाबन्दी गर्नु नगरबासीमाथिको अपमान भएको बताए । ‘हामीले कानून, विधि र विधानबाट तलमाथि नगरी काम गरेका छौं’, प्रवक्ता डुम्रेले भने, ‘मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई तस्करको आरोप लगाउनु भनेको जनतामाथिको अपमान हो । मेयर र हाकिमबीच मिलेर नगरमा भएका कामले जनता खुसी छन् । परिवर्तन र नवीनतम् कामबाट आत्तिएर आक्रमण प्रयास भएको हो । यसको हामी निन्दा गर्दछौं ।’

गत पुस १८ गते बसेको कार्यपालिका बैठकले देवदह-७ का कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकेको थियो । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिए ।

‘खेलकुदको संयोजक सहमतिमा तोक्न लामो प्रयास गरे’ खरेलले भने, ‘सहमति हुन नसकेपछि बहुमतबाट टुंगो लगाएको हो । हामी विधि विधानले पनि त्यही भन्छ । जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्ने, बन्दुक खोस्नेलाई कारबाहीको माग गर्दछौं ।’

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पालिकामा भएका हरेक काम स्थानीय सरकार सञ्चालन ऐन-२०७४ ले तोके अनुसार नै भएको बताए । ७ जना वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले सोमबार नगरपालिकामा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरीले सोमबार नै तोडेको थियो ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले विज्ञप्तीमार्फत देवदहमा कर्मचारीमाथि भएको हुलहुज्जतको विरोध जनाएको छ । संगठनका महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तीमा यस्तो अमानवीय क्रियाकलाप गर्ने र कर्मचारीलाई त्रसित बनाई काममा अवरोध सिर्जना गर्नेमाथि कारवाहीको माग गरिएको छ । त्यस्तै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले देवदह नगरपलिका रुपन्देहीका केही जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी कार्यालयको भौतिक सामग्री तोडफोड गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई लक्षित गरी गरिएको अमानवीय कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा नागरिकको सेवामा दिन रात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीहरुद्वारा गरिने सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको उल्लेख छ । उक्त घटनाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा उल्लेख छ ।

राजनैतिक द्वन्द्व र समस्याको समाधान राजनीतिक तवरबाट नै गर्नुपर्नेमा सो नगरी स्वयं निर्वाचित जनप्रतिनिधिवाट हुलहुज्जत एवं अमर्यादित कार्य हुनु आफैमा दुखद घटना भएको संगठनले बताएको छ । “राष्ट्रसेवक कर्मचारी प्रति जोसुकैबाट गरिने दुव्र्यवहारले नगारिकको सेवामा अहोरात्र खटिने कर्मचारीको मनोबल खस्किने हुँदा हामी त्यस्ता क्रियाकलाप प्रति भत्र्सना एवं खेद प्रकट गर्दछौं”-विज्ञप्तीमा भनिएको छ ।

यस्ता अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभूति दिलाइ कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ४३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र