७ चैत्र २०८२, शनिबार | March 21, 2026

बौद्ध विश्वविद्यालय विश्वकै आकर्षण : एमाले उपाध्यक्ष पौडेल



लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताएका छन् । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेको स्थानमा हुनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै उनले यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने बताए ।

रुपन्देहीको देवदहमा निर्माण भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको आज उद्घाटन गर्दै पूर्वमन्त्री पौडेलले पदाधिकारीले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया सुरु गरेको बताए । उनले बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै विश्वविद्यालयलाई मुलुककै नमूना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब रु एक खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा रु एक खर्बको परियोजना सुरु भएको जनाउँदै उनले परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको बताए । “यो विशाल संरचना हो, रु एक खर्ब लागतमा सम्पन्न हुनेछ,” उनले भने, “पूर्वाधार निर्माणको चरणलाई सबै पक्षले सहयोग गर्नुपर्छ ।”

पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहको विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्ने गरी सुविधा सम्पन्न संरचना निर्माण हुने जानकारी दिए । विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र चार हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले जानकारी दिए । विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रम सञ्चालन हुने उनले बताए ।

विश्वविद्यालयका रजिष्टार डा तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको बताए । विश्वविद्यालयले देवदहमा नौवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्राबास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, सङ्ग्रहालय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् ।

रङ्गशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी ‘डिजाइन’ गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ । रजिष्ट्रार डा आचार्यले पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिबद्धता जनाइसकेको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहबासीले दिएको जमिनमा पूर्वाधार निर्माण सुरु भएको भन्दै खुसी व्यक्त गरे । विश्वविद्यालय सभाका सदस्य कपिल लामाले बौद्ध शिक्षासहितका कार्यक्रम सञ्चालन गरी विद्यार्थी सङ्ख्या बढाउँदै लैजानुपर्ने बताए ।

देवदहमा भवन निर्माणसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा दुई हजार १३ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ५६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा