१५ बैशाख २०८१, शनिबार | April 27, 2024

झापाबाट काठमाडौं जाने रात्रि बसमा एकद्वार प्रणाली



झापा । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौं यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । यस्तो अवस्थालाई अन्त्य गर्न यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली सुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार झापाका मुख्य चार यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात व्यवस्थापन समितिमार्फत बिहीबारदेखि काठमाडौं जाने रात्रि बस सेवामा एकद्वार प्रणाली लागू गरिएको हो । पहिलो दिन काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, बुधबारे र विर्तामोडका २० यात्रुबाहक रात्रिबस संयुक्त बुकिङ काउन्टरमार्फत यात्रु बोकेर काठमाडौँ गएका छन् ।

संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएका कम्पनीमा पूर्वी मेची बस व्यवसायी प्रालि, पूर्वी हिमाल यातायात प्रालि, मेची यातायात एन्ड अटो प्रालि र मेची सुपर यातायात प्रालि रहेका छन् । काठमाडौंमा रहेका अन्य कम्पनीसमेत एकद्वार प्रणालीमा आउने तयारीमा रहेको उनले दाबी गरे ।

यो प्रणाली लागू भएपछि यात्रुले जुनसुकै बसको पनि एउटै काउन्टरबाट टिकट काट्न पाउने छन् भने यातायात व्यवसायीले आफ्ना गाडी पूर्वनिर्धारित आलोपालो मिलाएबमोजिम सञ्चालन गर्नुपर्नेछ । आलोपालोका लागि गाडी संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएको हुनुपर्ने छ । मेचीनगर यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले एकद्वार प्रणालीमार्फत एउटै बुकिङ काउन्टरबाट यात्रुले बिना झञ्झट सेवा पाउने सुरुआतले यातायात क्षेत्रमा व्याप्त बिचौलिया विकृति र बेथितिको अन्त्य हुने बताए ।

“हामी यात्रुको तानातान नहोस् र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस् भन्ने चाहन्छौँ”, उनी भन्छन, “हिजो सिन्डिकेट प्रथा भनेर संयुक्त समिति नै खारेज गराइयो । यो सिन्डिकेट होइन, यातायातलाई सही ढङ्गले व्यवस्थापन गर्ने आलोपालो पद्धति हो । यसबाट यात्रुलाई झन सुविधा हुन्छ ।” दर्जनौँ सङ्ख्यामा खुलेका बुकिङ काउन्टरका प्रतिनिधिले बसपार्कमै गएर यात्रु तानातान गर्ने विकृतिका कारण पूर्वीनाका नै बदनाम भइरहेको जनाउँदै यातायातलाई चुस्त र मर्यादित आफैँ बनाउँछौँ भनेर व्यवसायी लाग्नु स्वागतयोग्य कार्य भएको उनको भनाइ छ ।

जिल्लाको सबैभन्दा धेरै व्यवसायी र सवारी साधन भएको पूर्व मेची बस व्यवसायी प्रालिका पूर्वअध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्त व्यवस्थापन गरेर आलोपालो प्रणालीमा जाने व्यवसायीको कदमलाई सरकार, स्थानीय प्रशासन र नागरिक तहबाट सहयोग हुनुपर्ने धारणा व्यक्त गरेका छन । “पहिलो चरणमा रात्रि बसबाट यो प्रणालीको प्रयोग गरिएको हो”, संयुक्त यातायात व्यवस्थापन समितिको रुट निर्धारण संयोजकसमेत रहेका श्रेष्ठले भने “चारैवटा यातायात कम्पनीका साझा बुकिङ काउन्टर सञ्चालन भइसकेका छन् । काउन्टर रहने स्थान र कर्मचारीसमेत निश्चित गरिसकेका छौं । यात्रु र गाडीको चाप हेरेर वैज्ञानिक ढङ्गले आलोपालो मिलाउँछौँ ।”

यातायात क्षेत्रमा निजी क्षेत्रको पहलमा एकद्वार प्रणाली लागू गरिएकोमा सरोकारवाला अन्य व्यवसायीले मिश्रित प्रतिक्रिया जनाएका छन् । होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले यात्रु र सवारी साधन बढ्दै गए पनि उचित व्यवस्थापन हुन नसकिरहेको अवस्थामा एकद्वार प्रणाली आउनु सराहनीय भएको बताए ।

पर्यटन व्यवसायी नीरबहादुर कार्कीले यात्रुलाई गाडी छान्ने स्वतन्त्रता हनन गरिन नहुने जनाउँदै पुरानै गाडीमा जबर्जस्ती टिकट काट्न बाध्य पार्ने अवस्था ल्याउन नहुने बताए । मुलुककै ठूलो यातायात सञ्जाल भएको तत्कालीन मेची बस व्यवसायी सङ्घले दश वर्षअघिसम्म राजधानी जाने रात्रि बसको एकद्वार प्रणाली सञ्चालन गर्दै आएको थियो । तर, त्यसको चर्को विरोध भएपछि एकद्वार प्रणाली सरकारले खारेज गरेको थियो । तर, अहिले व्यवसायी नै एकद्वार प्रणालीको आवश्यकतामा जोड दिइरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ३६ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको