२७ माघ २०८२, मंगलबार | February 10, 2026

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट



काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा अर्थमन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरे । त्यस्तै, लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे ।

पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुनसक्ने बताए । नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको पनि अर्थमन्त्री पुनले बताए ।

चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे । जिलोङ-केरुङ-रसुवागढी-चिलिमे दुई सय २० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण पनि तत्काल अघि बढाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा ‘क्रस हिमालय रेलवे’ परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएकामा चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे अर्थमन्त्री पुनले चासो व्यक्त गरे । नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण जारी छ ।

“रेल मार्ग नेपालीको सपना हो । यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौँ र चिनियाँ पक्षबाट छिटो काम अघि बढोस् भन्ने चाहन्छौँ,” अर्थमन्त्री पुनले भने । तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा अर्थमन्त्री पुनले चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरे । चीनसँगका अरू नाका खोल्नका लागि पनि चिनियाँ पक्षसँग उनले आग्रह गरे । टोखा-छहरे सुरुङमार्ग निर्माणलाई नेपालले प्राथमिकतामा राखेकाले उक्त आयोजनाको सम्भाव्यता अध्ययनको काम चाँडो सकिने विश्वास पनि उनले व्यक्त गरे ।

आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि चिनियाँ लगानीकर्तालाई निमन्त्रणा गरिसकिएको जानकारी दिदै अर्थमन्त्री पुनले उक्त सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनमार्फत आग्रह गरे । भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न पनि उनले आग्रह गरे ।

जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए । उनले नेपाल र चीनबीच लामो मित्रता तथा सहकार्य रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिनुहुँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए। चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै उनले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

“चीन-नेपाल सम्बन्ध उचाइमा पुर्याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौँ । साथै दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौँ,” राजदूत छनले भने । पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी पनि अर्थमन्त्री पुन गराए । त्यसका लागि हवाई रुटका साथै पोखरा-काठमाडौं र भैरहवा-काठमाडौं उडानको अनुमति चाहिने उल्लेख गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : ३५ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा