३ आश्विन २०८३, शनिबार | September 19, 2026

बेनी-जोमसोम-कोरला सडकमा पाँच पुल निर्माण



म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते रु २३ करोड ७९ लाख ७२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता गरेको थियो । कालिका-गजुरमुखी जेभीले विसं २०७६ चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए ।

सूचना अधिकारी चापागाईँका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि रु चार करोड ६८ लाख दुई हजार छ सय ३८ मा ठेक्का सम्झौता भएको थियो । पचास मिटर लम्बाइको किम्लिङखोला पुलको लागत रु छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत रु छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत रु छ करोड ८५ लाख रहेको छ ।

विसं २०७४ मा सुरु भएको दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०-७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से, बेनी-बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतोखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रव झाले बताए । विभिन्न छ स्थानमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : १७ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज