बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण गर्ने आफ्नो देशको ऐतिहासिक लक्ष्य पूरा गरेरै छाड्ने उद्घोष गरेका छन्। उनले ‘ताइवान स्वतन्त्रता’ पक्षधर पृथकतावादी गतिविधिको विरोध गर्न ताइवान जलडमरूमध्यका दुवैतर्फका नागरिक तथा विश्वभर रहेका चिनियाँ समुदायलाई एकजुट हुन आह्वान गरेका छन्।
चीनका क्रान्तिकारी नेता सुन यात-सेनको जन्मको १६०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले मातृभूमिको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको अटल ऐतिहासिक जिम्मेवारी र सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको बताएका हुन्।
‘मातृभूमिको पूर्ण एकीकरण अवश्य हुनुपर्छ र निःसन्देह भएरै छाड्छ,’ सीले भने।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले ताइवान प्रश्नको समाधान र मातृभूमिको पूर्ण एकीकरण चिनियाँ राष्ट्रको पुनर्जागरणको स्वाभाविक आवश्यकता भएको बताए।
उनले ताइवान जलडमरूमध्यका दुवैतर्फका नागरिक तथा देशभित्र र विदेशमा रहेका सबै चिनियाँलाई ‘ताइवान स्वतन्त्रता’ पक्षधर पृथकतावादी शक्तिको विरोध गर्दै दुई पक्षबीचको सम्बन्धलाई शान्तिपूर्ण विकासको दिशामा अघि बढाउन एकजुट हुन आग्रह गरे।
सीले एक चीन सिद्धान्त र सन् १९९२ को सहमतिका आधारमा ताइवानका विभिन्न क्षेत्रका दूरदर्शी व्यक्तिहरूसँग अन्तरसम्बन्ध र राष्ट्रिय एकीकरणका विषयमा संवाद तथा परामर्श गर्न चीन तयार रहेको पनि बताए।
उनले ताइवानको वास्तविक अवस्था, त्यहाँका नागरिकको हित र भावनालाई ध्यानमा राखिने उल्लेख गर्दै कुनै पनि स्वरूपको ‘ताइवान स्वतन्त्रता’ सम्बन्धी पृथकतावादी गतिविधिलाई भने कुनै स्थान नदिइने स्पष्ट पारे।
सुन यात-सेनको विरासत र चिनियाँ राष्ट्रिय पुनर्जागरण
राष्ट्रपति सीले चीनको लोकतान्त्रिक क्रान्तिका अग्रणी नेता सुन यात(सेनलाई महान् राष्ट्रिय नायक, देशभक्त र क्रान्तिकारी व्यक्तित्वका रूपमा स्मरण गरे।
सन् १८६६ मा जन्मिएका सुन यात-सेनले एक शताब्दीभन्दा अघि सन् १९११ को क्रान्तिको नेतृत्व गर्दै हजारौँ वर्षदेखि कायम रहेको चीनको निरंकुश राजतन्त्र अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको सन् १९२५ मा निधन भएको थियो।
बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा करिब तीन हजार व्यक्तिको सहभागिता थियो। कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ सुएसियाङ र ली सीलगायत वरिष्ठ नेताहरू उपस्थित थिए।
सीले सुन यात-सेनको योगदान र विचारलाई आत्मसात् गर्दै राष्ट्रिय एकता, देशभक्ति र समृद्ध चीन निर्माणको अभियानलाई अघि बढाउनुपर्ने बताए।
उनले चिनियाँ कम्युनिस्ट पार्टीले विगत एक सय वर्षभन्दा बढी समयदेखि चिनियाँ जनताको नेतृत्व गर्दै राष्ट्रको इतिहासमा महत्वपूर्ण अध्याय लेखेको दाबी गरे।
‘डा। सुनलाई स्मरण गर्ने सबैभन्दा राम्रो तरिका भनेको उहाँको अमूल्य भावना र आदर्शलाई आत्मसात् गर्दै त्यसलाई निरन्तरता दिनु हो,’ सीले भने।
उनले देशको विकासका क्रममा आउने चुनौती, जोखिम र कठिनाइको सामना गर्न चिनियाँ जनतालाई तयार रहन आग्रह गरे। साथै, चिनियाँ विशेषतासहितको समाजवाद र मार्क्सवादको विकासलाई समयअनुकूल अघि बढाउनुपर्नेमा जोड दिए।
सीले राष्ट्रिय एकता, जातीय सद्भाव र साझा समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउँदै मानवजातिको साझा भविष्य निर्माण गर्ने अवधारणालाई समेत प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे।
उनका अनुसार सुन यात(सेनले जीवनभर राष्ट्रिय एकता र जातीय सद्भावको पक्षमा आवाज उठाएका थिए र देश विभाजन गर्ने कुनै पनि गतिविधिको विरोध गरेका थिए।
राष्ट्रपति सीको सम्बोधनमा राष्ट्रिय पुनर्जागरण, देशभक्ति र चीनको पूर्ण एकीकरणलाई विशेष प्राथमिकता दिइएको थियो। विशेषगरी ताइवानको विषयमा उनले दिएको अभिव्यक्तिले चीनको एकीकरणसम्बन्धी आधिकारिक अडानलाई पुनः स्पष्ट पारेको छ।

















प्रतिक्रिया