१७ माघ २०८२, शनिबार | January 31, 2026

सिथि नखः र कुमार जयन्ती पर्व मनाइयो



भक्तपुर । जेठ शुक्लपक्ष षष्ठी तिथि अर्थात् कुमार षष्ठी । आज भक्तपुरसँगै काठमाडौंँ उपत्यकासहित देशभरका नेवार समुदायले सिथि नखःपर्व भव्यरुपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानले वर्षाको महत्वपूर्ण धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाँडलाई वर्षा अघिको अन्तिम चाडकारुपमा मनाइन्छ ।

सिथि नखःमा आज विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत वरपर सरसफाइ गरिएको छ । वर्षाको पानी बगेर आउने भेल र फोहर खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

उनका अनुसार हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुल सफाइ गर्ने परम्परा वर्षौँदेखि रहँदै आएको हो ।

नेवार समुदायमा सिथि नखः महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्दछन् । जात्रापर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाँडको रूपमा सिथि नखःको विशेषता रहेको संस्कृतिविद् प्रा डा श्रेष्ठले बताए । उनका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन हो । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँलगायत कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो । तसर्थ आज भगवान् कुमारको जन्मदिनका रूपमा कुमार पूजा गर्ने प्रचलन छ ।

आजको दिन पानीको मुहान एवं स्रोत सफा गरेर मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात ‘बारा’ चढाउने र खाने प्रचलन रहेको छ । घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी शक्ति र मेहनत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नखःको दिन चामलको पिठोबाट बनाइएका विशेष प्रकारका रोटी, चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने गरेका संस्कृतिविद् राजकुमार जोशीले बताए ।

आज शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएका परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उनको भनाइ छ । सिठी नखः का दिन माटोलाई चोट पु¥याउन नहुने मान्यता रहेकाले किसानले आज खेतबारीमा काम गर्दैनन् ।

आजको दिन दिगुपूजा (देवाली) को अन्तिम दिन मानिन्छ । आज काठमाडौँको जैसिदेवलमा सिद्धिकुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यःको पूजा गरिन्छ । त्यस्तै भक्तपुर–५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : २५ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान