२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु



म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ ।

गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिए ।

“सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो”, आयोजना प्रमुख रेग्मीले भने, “अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौँ ।”

मालिका गाउँपालिका-६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु)तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उनले बताए ।

आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ । उनका अनुसार जम्मा दुई हजार नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म एक हजार मिटर मात्र खनिएको छ ।

मालिका-५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।

रु पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । न्यू लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।

मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन अवस्थामा रहेको डाँडाखेत-राहुघाट प्रसारण लाइन र सवस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताए ।

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका छन् ।

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । ठेक्का अवधि समाप्त हुनै लाग्दासमेत सवस्टेशन र प्रसारण लाइनको निर्माणले भने गति लिन सकेको छैन । कूल २५ किमी दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम सकिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : २२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती