काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताएका छन् ।
नयाँ सरकार बनेपछि प्रतिपक्ष बन्न पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै सांसद विष्टले यस्तो बताएका हुन् । यस्तो पाराको मान्यताले राजनीतिक नैतिकता नदेखिने उनको भनाइ थियो ।
उनले प्रचण्डले सरकारबाट बाहिरिनेबित्तिकै लोकतन्त्र खतरामा परेको भनी गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गरे । उनले भने, ‘यो कस्तो मान्यता स्थापित हुँदै गयो, आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने ? के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो ?’
यस्तै उनले कांग्रेस-एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भनी गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गरे । ‘संविधान संशोधन लुकेर गरिने होइन । त्यो प्रावधान पनि छैन । बरु संविधान संशोधनका लागि विधेयक पेश गरेको ३० दिनभित्र जनतामाझ सार्वजनिक गर्नुपर्छ । यस्तो प्रावधानलाई नहेरेर एकोहोरो जुन प्रचार गरिएको छ त्यसमा सत्यता छैन,’ उनले भने ।
उनले समावेशिता सिद्ध्याउन खोजियो भन्ने आरोप पनि निराधार रहेको बताए ।



















प्रतिक्रिया