२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल आदिकालदेखि दक्षिण एसियामा एक मात्र स्वतन्त्र राष्ट्र रहन सफल भएको बताए । “भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ”, उनले भने, “नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाइएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रूपमा विश्वमा प्रचार गर्न आवश्यक छ ।”

राष्ट्रपति पौडेलले इतिहासको जगमा उभिएको वर्तमानमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा राखे । “हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझ पूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौँ, यसमा टेकेर समृद्ध र सबल राष्ट्र निर्माणमा जुट्न आवश्यक छ”, राष्ट्रपतिले भने ।

यसैगरी उनले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउन, सामाजिक सुधारका कार्यअन्तर्गत कैयौँ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व भएको बताए । भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको राष्ट्रपतिको भनाइ थियो ।

विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले उल्लेख गरे । “अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो, यही मौलिकपनले सदियौँदेखि हामीबीच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ”, उनले भने ।

राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको जगमा नै जनचाहना अनुरूप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिक रूपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि योगदान पुर्‍याएका राष्ट्रवादी एवं स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवं सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको उनको भनाइ थियो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई रु एक लाख एक हजार एक सय ११ राशिसहितको सम्मान एवं पुरस्कार प्रदान गरे । गुठीले विशेष गरी कर्णाली क्षेत्रका विपन्न परिवारका बालबालिकाको स्वास्थ्यका लागि गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिना, उपाध्यक्ष त्रिरत्न मानन्धर, सदस्य प्राध्यापक राजेश ढुङ्गाना, मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक डा मृगेन्द्रराज पाण्डे, पूर्वराजदूत प्राध्यापक मोहनप्रसाद लोहनीले राष्ट्रको स्वाभिमान जोगाउनका लागि भीमसेन थापाले गरेको योगदानबारे चर्चा गरे । त्यसअवसरमा प्रतिष्ठानद्वारा प्रकाशन गरिएको भिमसेन थापासँग सम्बन्धित ऐतिहासिक दस्तावेजको सङ्ग्रह राष्ट्रपति पौडेललाई अर्पण गरिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ३९ बजे

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)