काठमाडौं । देशका केही भू-भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोसी, मधेस, बाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस र बाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र बाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ ।



















प्रतिक्रिया