११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर



नेपालगन्ज । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगन्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन् ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताए ।

काँधमा कालो झोला, गलामा सारङ्गी भिरेर नेपालगन्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर गीत गाउँदै दैनिक रु पाँच सयदेखि रु सात सयसम्म आम्दानी हुने गरेको जानकारी दिए । नेपालगञ्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेको उनले बताए ।

बाह्र वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारङ्गी रेट्दै नेपालगञ्ज छिरेका हुन् । उनले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि आग्रह गर्छन् ।

“सहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन् । जसोतसो घरखर्च सङ्कलन हुँदै हाएको छ”, डम्बरले भने”, “मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारङ्गी रेट्दै विरहका गीत गाउने गरेको छु । यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ ।”

बीचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेको बताउँदै उनले पछिल्लो सात वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटेर जीविकोपार्जन गर्दै आएको जानकारी दिए । सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा पाश्चात्य गीतसङ्गीतको प्रभाव बढ्दै गइरहेका उनको बुझाइ छ ।

सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आएका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुख्र्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अङ्गाल्दै गएका बताए ।

समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुख्र्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गरे । कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका उनको भनाइ छ ।

रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइलफोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफुहरुले पुख्र्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले गुनासो गरे । नेपाली मौलिक लोक संस्कृति र पुख्र्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ४७ बजे

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने