२३ चैत्र २०८२, सोमबार | April 6, 2026

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि



गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?”

६० वर्षीय भण्डारीले भने, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर जान्छन्।

फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, “यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।”

भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी गरे । “पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।”

मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे ।

पुख्र्यौली थलो नजिकै राजमार्गछेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे। ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् ।

राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए। यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए। जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । “स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ”, उनले भने, “भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।”

खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए। लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए। यामअनुसार गाउँमा उब्जेको तरकारी पनि उहाँले बिक्रीमा राख्दै आएका छन्। लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए ।

“बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ”, उनले भने, “ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।”

खाजाघरमा मासुभातको रु चार सय ५० र मासु चिउराको रु दुई सय ५० मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए।

भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पु-याउँदै आएको छ ।

“धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ”, भण्डारीका छोरा सुनिलले भने, “विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।”

इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । दसवर्ष विदेश बसेर फर्कनुभएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् ।

“घरपरिवारको राम्रो साथ र सहयोग छ”, भण्डारीले भने, “भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।” ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढङ्गबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् ।

“हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ”, भण्डारीले भने ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ३० बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको