१ पुस २०८२, मंगलबार | December 16, 2025

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता



बागलुङ । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन । पहिरोले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् । त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दसैँको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ । गत साउन २२ गते आरुपाटामा आएको पहिराले स्थानीय बालीश्वर बुढामगरको दुईवटा घर पुरेको थियो ।

पहिरोले घर पुरिँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिराले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् । युवाहरूभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ । बालीश्वको घर पुरिँदा उनका ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरी सात वर्षीया मधु र मालती बुढामगरको मृत्यु भएको थियो । उहाँ अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आएका छन् । वृद्धा आमा र साना छोरासहित त्रिपालमुनिको बास अत्यासलाग्दो छ ।

बेलाबेला पानी पर्दा पनि उनीहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताए। दसैँ नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको उनी बताउँछन् । दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्दा खानाको समस्या नभए पनि घर पुनःनिर्माण गर्न सक्ने स्थिति नभएको उनले बताए ।

“दसैँ आयो, सबैतिर खुसीयाली छ, हाम्रा लागि त यो दसैँ दशा भयो, बस्ने घर छैन, पहिराले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई केको दसैँतिहार ?, यस्तो बेला चाडबाड आउँदा पिर पर्दोरैछ”, बुढामगरले भने, “मलाई त त्यही छोरीहरूको र बुबाको याद आइरहन्छ, उहाँहरू पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलो हुने थियो, अहिले त साना छोरा छन्, उनीहरूलाई खुसी बनाउन पनि सकिएको छैन ।”

पहिरोका कारण स्थानीय मङ्गलसिंह बुढामगर पनि विस्थापित हुनुभएको छ । बालीश्वरको घर पुरिँदा मङ्गलसिंहका नौ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उहाँ पनि गम्भीर घाइते भएका थिए । लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आएका मङ्गलसिंहको दुईवटै खुट्टा चल्दैनन् । उनको साथमा आठ र ११ वर्षीया छोरीमात्रै छन् । लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मङ्गलसिंहले सुनाए । चाडबाडका बेला छोरीहरूले राम्रो लाउन र मिठोमसिनो खान खोज्दा खुवाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

उनले भने, “यो साल त मलाई ठूलो दशा लागेको रहेछ, छोरालाई पहिरोले लग्यो, घरमा बस्न सक्ने अवस्था छैन, भाइले बस्न दिएको छ, उसकामा कति दिन बसेर पुग्छ ?, गाउँलेले दिएको कोदो, मकै खाएर पेट भोको छैन, तर दसैँको बेला यी साना छोरीलाई के थाहा हुन्छ र हामीसँग आर्थिक छैन भन्ने, जसोतसो एउटा बस्ने घर बनाउन सके हुन्थ्यो, अहिले त धेरैले लत्ताकपडा र अरुसामान सहयोग गर्नुभएको छ, सरकारले घर बनाइदिए हुन्थ्यो ।”

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोपीडितका लागि पालिकाले अतिआवश्यक सामग्री सहयोग गरेको बताए। अहिले धेरै पीडित आफन्तकामा आश्रय लिएको हुँदा खानेकुरा र लत्ताकपडाको समस्या नभएको उनको भनाइ छ । गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउँछन्।

“कुनै पनि पहिरोपीडित भोकै बस्न नपरोस्, नाङ्गो हुन नपरोस् भन्ने हिसाबले हामीले खाद्यान्न र लत्ताकपाडा उपलब्ध गराएका छौँ, धेरै सङ्घसंस्थाले पनि सहयोग गरेका छन्”, उनले भने, “अहिले उहाँहरूलाई खानाको समस्या छैन, पुनःस्थापनाका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग सहयोग मागिरहेका छौँ ।” रासस

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष