१० श्रावण २०८३, आइतबार | July 26, 2026

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता



बागलुङ । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन । पहिरोले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् । त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दसैँको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ । गत साउन २२ गते आरुपाटामा आएको पहिराले स्थानीय बालीश्वर बुढामगरको दुईवटा घर पुरेको थियो ।

पहिरोले घर पुरिँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिराले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् । युवाहरूभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ । बालीश्वको घर पुरिँदा उनका ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरी सात वर्षीया मधु र मालती बुढामगरको मृत्यु भएको थियो । उहाँ अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आएका छन् । वृद्धा आमा र साना छोरासहित त्रिपालमुनिको बास अत्यासलाग्दो छ ।

बेलाबेला पानी पर्दा पनि उनीहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताए। दसैँ नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको उनी बताउँछन् । दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्दा खानाको समस्या नभए पनि घर पुनःनिर्माण गर्न सक्ने स्थिति नभएको उनले बताए ।

“दसैँ आयो, सबैतिर खुसीयाली छ, हाम्रा लागि त यो दसैँ दशा भयो, बस्ने घर छैन, पहिराले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई केको दसैँतिहार ?, यस्तो बेला चाडबाड आउँदा पिर पर्दोरैछ”, बुढामगरले भने, “मलाई त त्यही छोरीहरूको र बुबाको याद आइरहन्छ, उहाँहरू पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलो हुने थियो, अहिले त साना छोरा छन्, उनीहरूलाई खुसी बनाउन पनि सकिएको छैन ।”

पहिरोका कारण स्थानीय मङ्गलसिंह बुढामगर पनि विस्थापित हुनुभएको छ । बालीश्वरको घर पुरिँदा मङ्गलसिंहका नौ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उहाँ पनि गम्भीर घाइते भएका थिए । लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आएका मङ्गलसिंहको दुईवटै खुट्टा चल्दैनन् । उनको साथमा आठ र ११ वर्षीया छोरीमात्रै छन् । लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मङ्गलसिंहले सुनाए । चाडबाडका बेला छोरीहरूले राम्रो लाउन र मिठोमसिनो खान खोज्दा खुवाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

उनले भने, “यो साल त मलाई ठूलो दशा लागेको रहेछ, छोरालाई पहिरोले लग्यो, घरमा बस्न सक्ने अवस्था छैन, भाइले बस्न दिएको छ, उसकामा कति दिन बसेर पुग्छ ?, गाउँलेले दिएको कोदो, मकै खाएर पेट भोको छैन, तर दसैँको बेला यी साना छोरीलाई के थाहा हुन्छ र हामीसँग आर्थिक छैन भन्ने, जसोतसो एउटा बस्ने घर बनाउन सके हुन्थ्यो, अहिले त धेरैले लत्ताकपडा र अरुसामान सहयोग गर्नुभएको छ, सरकारले घर बनाइदिए हुन्थ्यो ।”

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोपीडितका लागि पालिकाले अतिआवश्यक सामग्री सहयोग गरेको बताए। अहिले धेरै पीडित आफन्तकामा आश्रय लिएको हुँदा खानेकुरा र लत्ताकपडाको समस्या नभएको उनको भनाइ छ । गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउँछन्।

“कुनै पनि पहिरोपीडित भोकै बस्न नपरोस्, नाङ्गो हुन नपरोस् भन्ने हिसाबले हामीले खाद्यान्न र लत्ताकपाडा उपलब्ध गराएका छौँ, धेरै सङ्घसंस्थाले पनि सहयोग गरेका छन्”, उनले भने, “अहिले उहाँहरूलाई खानाको समस्या छैन, पुनःस्थापनाका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग सहयोग मागिरहेका छौँ ।” रासस

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : ०० बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन