९ बैशाख २०८३, बुधबार | April 22, 2026

असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे



सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताए ।

“यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भने ।

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौं र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौंबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।

सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।

सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ५८ बजे

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा