१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम



काठमाडौँ । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन ।

काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ ।

लगातार पटका पड्काउँदा नागरिकमा ध्वनी प्रदूषणसमेत भएको छ,भने आगलागीको जोखिम पनि बढेको चन्द्रागिरी निवासी शरण शर्माले बताए। उनले भने, “राति १२ बजेसम्म पटका पड्किएको थियो, ठूलाठूला आवाज आउँदा ‘डिस्ट्रब’ नै भयो, अहिले बिहान पनि उठ्न नपाउँदै लगातार पटका पड्किरहेका छन्, सुरक्षा निकायबाट निगरानी प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।”

सुरक्षा निकायले मुख्य मार्ग तथा काठमाडौँको ‘कोर’ क्षेत्रमा उपस्थिति देखिए पनि अली भित्री सडकहरुमा न्यून रुपमा मात्रै गस्ती भइरहेको पनि उनले बताए। त्यसका कारण पटका भित्रिने र पड्काउने क्रम नरोकिएको हो ।

नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताए । प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दासमेत चलाइएको छ । विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरुलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीले सार्वजनिक अपिल गर्दै भनेको छ, “पटका र पटकाजन्य पदार्थ विष्फोटक पदार्थका रुपमा रहेकाले तिहार त हो पड्काउँ न भनेर गैरकानुनी गतिविधि गर्दा कानुनी कारबाहीमा परिन्छ, पटकाजन्य पदार्थ ओसारपसार, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न सबैमा प्रतिबन्ध छ, यस्तो पाइएमा तीन महिनादेखि एक वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यस्ता गतिविधिमा कोही संलग्न नहुनु ।”

यसपाली नेपाल प्रहरीले देशभर ४८ हजारभन्दा बढी सुरक्षाकर्मी तिहार सुरक्षामा खटाएको छ । काठमाडौँ उपत्यकामा मात्रै दैनिक पाँच हजार सुरक्षाकर्मी तिहार सुरक्षाकै लागि परिचालन भइरहेका छन् । काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का लागि एकीकृत रुपमा चाडपर्व सुरक्षा योजना लागू गरी निगरानी बढाएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक तथा सामाजिक जनजीवन र सार्वजनिक मर्यादा तथा शान्ति सुरक्षामा खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताए ।

“जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटका, आतिसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन अनुरोध छ, देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न अनुरोध गरेका छौँ”, सहायक प्रजिअ पौडेलले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : १२ बजे

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौं । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ