१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

बेनी-दरवाङ सडक : रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरू



म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताए । “फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो”, उनले भने, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो ।

मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा-क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताए । पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताए ।

गत वर्ष रू पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि रू एक करोड ५० लाख विनियोजन भएको छ । म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी-दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए ।

सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उनले बताए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडकमार्ग २०६३ सालमा खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले रणनीतिक महत्त्वको मानिएको छ ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर तीन वर्षअघि कालोपत्र भएको थियो । सिम-पानाबगर खण्डको चार किलोमिटर सडकको गत जेठमा काम सकिएको छ । दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न एक योजना चालु रहेको र थप रू एक अर्ब बजेटको योजना कार्यान्वयनको प्रक्रियामा रहेको म्याग्दी क्षेत्र नं १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

“धारापानी-ताकम-शिवाङ खण्डको चार किलोमिटर कालोपत्र र ग्राभेलका लागि धमाधम काम भइरहेको छ”, उनले भने, “गत वर्ष ग्राभेल भएको दरवाङ-धारापानी खण्डको सात किलोमिटर र शिवाङबाट मुना खण्डको सडक कालोपत्र गर्न सङ्घीय र प्रदेश सरकारको साझेदारीमा रू एक अर्ब बजेटको योजनाको ठेक्का आह्वानको तयारी भएको छ ।” गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका जुग्जालीले काम भइरहेका र सम्पन्न हुने चरणमा रहेका योजनामा बजेट अभाव भएकाले मुख्यमन्त्री र विभागीय मन्त्रीलाई थप बजेट व्यवस्था र रकमान्तरका लागि पहल गरेको उनले बताए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : २८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित