१२ पुस २०८२, शनिबार | December 27, 2025

जुम्लामा सोलार लिफ्ट आयोजना अलपत्र



जुम्ला । लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् ।

जिल्लाको तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा रु ५० लाखभन्दा बढी बजेट खर्च गरिएका छन् । तर, अहिले चारवटा आयोजना मात्र सञ्चालनमा छन् । बाह्रवटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा छन् ।

तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा मात्र सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताए । यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँचवर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालु आर्थिक वर्षमा १ र ६ नं वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिका योजना शाखाका अधिकृत चन्दको भनाइ छ ।

हिमा गाउँपालिकामा चारवटा सोलार प्रणालीमार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको गाउँपालिका सूचना अधिकारी रतन रावतले जानकारी दिए । सोलार प्रणालीबाट सञ्चालन गरिएका सिँचाइ आयोजना खासै सफल भएका छैनन् । गाउँपालिका–३, मोप्लागाउँमा दुई सय ८५ घरपरिवारले सिँचाइ पुग्नेगरी २०७७ सालमा लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो ।

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा रु ५० लाखमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो । सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिबेलासम्म सिँचाइ गर्न सकिने अपेक्षा गरिएको थियो, अहिले प्रयोगविहीन भएको सूचना अधिकारी रावतको भनाइ छ ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तिलामा चारवटा लिफ्ट सिँचाइ आयोजना छन् । चारवटा आयोजनामध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुईवटा आयोजना मात्र सञ्चालनमा रहेको बताए  ।

जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित ९पाखो० २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।

अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्र खेती भएको छ । जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेषगरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर लगाइँदै आएको छ । सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशकअघिदेखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ५५ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि