२९ भदौ २०८३, सोमबार | September 14, 2026

जलवायु परिवर्तनको असर सुन्तलाखेतीमा



म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको छ ।

“स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो”, सुवेदीले स्मरण गरे, “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।” कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथाजस्तै भएको सुवेदीले बताए । उनीकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैँचा छैन । एक जनाको एक सय बोटसम्म सुन्तलाको बगैँचा थियो । बीसभन्दा बढी बगैँचा थिए ।

चिमखोला, दग्नाम, कुइनेमङ्गलेका बासिन्दाले कोदो, मकै, आलु ल्याएर मौवाफाँटबाट सुन्तला साटेर लैजान्थे । आलु र सुन्तलाको वस्तु विनिमय गर्ने चलन थियो । मौवाफाँटका क्षेत्री, बाहुन, ठकुरी र चिमखोला, दग्नामका मगर, कुइनेङ्गलेका छन्त्याल जातीबीच मितेरी साइनो लगाउने चलन पनि थियो ।

केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताए । तापक्रम वृद्धिको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उनले बताए । टुनीको रूखहरू फैलिँदा सुन्तला खेतीमा असर परेको पनि उनको अनुभव छ ।

दाना सानो लाग्ने, पात पहेँलो भएर झर्ने, हाँगा सुक्नेजस्ता समस्या देखिएको सुवेदीले बताए । रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार चार सय मिटरको उचाइमा छ । मौवाफाँट त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने फूलबारी, दुलेपानी र बुक्लमा सुन्तलाखेती राम्रो हुन थालेको छ ।

फूलबारी, दुलेपानी र बुक्ल समुद्र्री सतहदेखि एक हजार पाँच सय मिटर हाराहारीको उचाइमा छन् । तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताए । “सुन्तलाखेतीका लागि समुद्री सतहदेखि नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइको भूगोल उपयुक्त भए पनि पछिल्लो समय माथिल्लो क्षेत्रमा खेती हुन थालेको छ”, उनले भने, “यसअघि सुन्तला फल्ने तल्लो क्षेत्रमा उत्पादन नहुने र माथिल्लो क्षेत्रमा राम्रो उत्पादन हुन थाल्नुलाई तापक्रम वृद्धिको असरका रूपमा लिएका छौँ ।”

हावापानी, मौसम र माटोको परीक्षण गरेर मात्र सुन्तला बगैँचा स्थापना गर्नुपर्ने उनले कृषकलाई सुझाव दिनुभयो । पुराना बगैँचामा फल टिपेपछि मल र पानी हाल्न, बोडोपेष्ट लगाउन बास्तोलाले सुझाए । म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा चार सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रून्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरूङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

गत वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक टन उत्पादन भएको छ । म्याग्दीका कृषकले यस वर्ष रू ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलले बताए ।

गत वर्ष रू २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । सरदर प्रतिकिलो रू ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११ दशमलब २५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोगकीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढेको हो ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरूवा वितरण, प्राविधिक तालिम, बगैँचा ब्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

यस वर्ष चार सय रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषिउपज हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : १२ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका