बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन आज क्वाटर फाइनल समिकरण पूरा भएको छ । प्रतियोगितामा भोली शुक्रबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुने भएको हो ।
बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा आजको भएको पहिलो क्वाटर फाइनलमा नविन औद्योगिक माविलाई ३-२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।
चारपाला खेल मैदानमै भएको अर्को खेलमा कान्ति माविलाई ३-० ले हराउँदै स्कलर्स होम सेमिफाइनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।
उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि र न्यु होराइजन स्कुलबीचको खेलमा स्कलर्स होम ३-० ले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । जवई खेल मैदानमै आज भएको मोतिपुर मावि र अक्सफोर्ड माविबीचको खेलमा २-० ले अक्सफोर्ड विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिए ।
आजको जितसँगै अक्सफोर्डले पनि सेमिफाइनल यात्रा तय गरेको छ ।
त्यस्तै जवई खेल मैदानै आज भएको छात्रा तर्फको क्वाटरफाइनल खेलमा कान्ति माविलाई १-० ले हराउँदै गार्गी मावि सेमिफाइनलमा प्रवेश गरेको छ भने न्यु होराइजन र कालिका मानवज्ञान मावि बीचको खेलमा पेनाल्टी सुटआउटमा ३(२ ले कालिका विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोली शुक्रबार चारपाला खेलमैदानमा सरस्वती मावि र स्कलर्स होमबीच सेमिफाइनल खेल हुने नगर खेलकुद विकास समिति शेरजङ गुरूङले जानकारी दिए । ।
उता जवई खेलमैदानमा भोली शुक्रबार न्यु होराइजन मावि र अक्सफोर्ड माविबीच सेमिफाइनल हुने छ भने छात्रा तर्फ ज्ञानोदय मावि र गार्गी मावि तथा नविन औद्योगिक मावि र कालिका मानवज्ञान माबिबीच सेमिफाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।


















प्रतिक्रिया