काठमाडौं । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध शनिबारको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको च्याम्पियन्स ट्रफीमा ३५२ रनको लक्ष्य ४७.३ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो ।
३५२ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ बल बाँकी रहँदा ३५६ रन जोडेको हो । यो खेल ऐतिहासिकसमेत बनेको छ । आईसीसीका खेलमा अस्ट्रेलियाले पार गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो ।
३५२ रनको लक्ष्य पूरा गर्ने क्रममा अस्ट्रेलियाका जोश इंग्लिसले सर्वाधिक १२० रन बनाए । मात्र ८६ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गर्दै १२० रनको विजयी पारी नट आउट खेलेका हुन् ।
अन्तिममा आएका ग्लेन म्याक्सवेलले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा नट आउट ३२ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए ।
उसका लागि एलेक्स क्यारीले ६३ बलमा ८ चौका प्रहार गर्दै ६९ रन बनाए भने ओपनर म्याथ्यु सटले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गरी ६३ रनको योगदान दिए । मार्नस लाबुसेनले ४५ बलमा ५ चौका हानेर ४७ रन जोड्दा आक्रामक ओपनर ट्रेभिस हेड भने ६ रनमै आउट भएका थिए । अस्ट्रेलियाका कप्तान स्टेभेन स्मिथ भने ५ रनमा समेटिएका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका जोफ्रा आर्चर, मार्क वुड, ब्राइडन कार्स, आदिल रसिद र लियाम लिभिङस्टोनले एकएक विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३५१ रनको योगफल खडा गरेको थियो । इंग्ल्यान्डका बेन डकेटले १४३ बलमा १६५ रन जोडे । उनले १७ चौका र ३ छक्का प्रहार गरे। अस्ट्रेलियासामू उनको ऐतिहासिक र विशाल शतकीय इनिङको कुनै सीप चलेन । जोय रुटले अर्धशतकीय इनिङ खेल्दै ६८ रन जोडे भने कप्तान जोश बट्लर २३, जोफ्रा आर्चर २१, जेमी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडेका थिए ।
इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका बेन द्वारश्वीसले तीन विकेट हात पार्दा एडम जम्पा र मार्नस लाबुसेनले २-२ तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे ।
समूह ‘बी’मा अस्ट्रेलिया, इंग्ल्यान्डसँगै दक्षिण अफ्रिका र अफगानिस्तान छन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दुईदुई अंक बनाउँदा अफगानिस्तान र इंग्ल्यान्ड अंकबिहीन छन् ।


















प्रतिक्रिया