२ असार २०८३, मंगलबार | June 16, 2026

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा



ढोरपाटन । शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताए । बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उनको भनाइ छ ।

पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताए । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उनले जानकारी दिए । यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ ।

उनले भने, “लामो समय खडेरी पर्यो, गर्मी सुरु हुने बेला हिउँ परेपछि टाढाटाढाबाट हिउँ खेल्न सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आएका छन्, अझै चार–पाँच दिन हिउँ पग्लिदैन, हिउँ पग्लेर नसकिँदासम्म यस्तै चाप हुन्छ, तीनवटै जिल्लाबाट घुम्न आउने पर्यटकले यतिबेला पातिहाल्नेमा निकै रमाइलो भइरहेको छ ।”

बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन् । करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ । हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न गएका विकास क्षेत्रीले बताए । यसभन्दा अगाडि पनि साथीसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उनको भनाइ छ ।

“पहिले बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना निकै टाढा होला भन्ने लागेको थियो तर नजिक रहेछ, दुई घण्टामै यहाँ आउन सकिने रैछ, हिउँले पातिहाल्ने र माथिल्लो डाँडा ढपक्क हिँउले ढाकिएको देख्दा निकै रमाइलो भयो”, उनले भने, “हामीहरू मोटरसाइकलमा गएका थियौँ, हिउँमा मोटरसाइकल चिप्लिएर समस्या हुँदोरहेछ, एकै दिन सयौँको सङ्ख्यामा हिउँ खेल्न पुगेका रहेछन् ।”

एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : १३ बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको