२१ मंसिर २०८२, आइतबार | December 7, 2025

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा



म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।

“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने, “विद्युत्गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए ।

रघुगङ्गा-७ चिमखोलामा बाँध र रघुगङ्गा-४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । “आउटलेटबाट विद्युत्गृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उनले भने ।

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा-८ को बन्दीमा बाँध, रघुगङ्गा-७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : १९ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न