२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

तिम्बुङ पोखरी : पर्यटनको नयाँ गन्तव्य



ताप्लेजुङ । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । तीमध्ये एउटा अनुपम सौन्दर्य बोकेको पोखरी हो सिदिङवा गाउँपालिकाको कालिखोलामा अवस्थित तिम्बुङ पोखरी ।

सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टा गाडी यात्रा र एक दिनको पैदल यात्रापछि पुग्न सकिने यो पोखरी हाल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पोखरीलाई लिम्बू समुदायले ‘तिम्मक वरक’ भन्ने गर्थे । लिम्बू भाषामा‘तिम्मक’ को अर्थ बन्दुक र ‘वरक’ को अर्थ पोखरी हो ।

किम्बदन्तीअनुसार परापूर्वकालमा यहाँबाट बन्दुक पड्किएको जस्तै आवाज आउने भएकाले यसलाई तिम्मक वरक भनिन्थ्यो, जुन अहिले ‘तिम्बुङ पोखरी’ का बारेमा जानकार इन्द्रप्रसाद बेघाको भनाइ छ । तिम्बुङ पोखरी प्राकृतिक रूपमा अनुपम त छँदैछ, धार्मिक हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । जनविश्वासअनुसार यहाँ वरदान मागेमा पूरा हुन्छ ।

पौराणिक कथाअनुसार देवीदेवताहरू घना बस्तीका कारण स्वच्छ वातावरण खोज्दै हिँड्दा यो स्थानमा बसोबास गर्न पुगेका थिए । त्यसैले पनि यो ठाउँ आध्यात्मिक रूपमा पवित्र मानिन्छ । हिमाली क्षेत्रकै सुन्दर पोखरीमध्ये एक मानिने तिम्बुङ पोखरी चार हजार तीन सय ५० मिटर उचाइमा अवस्थित छ ।

पोखरीको पानी स्वच्छ, नीलो र मनमोहक देखिन्छ, जसले आगन्तुकलाई लोभ्याउने गर्छ । हिमाली हावापानी, अग्ला पहाड, शीतल बतास र सुगन्धित जडीबुटीको सुगन्धले यहाँको वातावरणलाई स्वर्गीय बनाएको छ । सरकारले २०७५ सालमा नेपालका एक सय नयाँ पर्यटन गन्तव्य पहिचान गर्दा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको थियो ।

त्यसयता यहाँ आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि अझै पनि पर्याप्त लगानी र प्रचारप्रसारको अभाव देखिन्छ । हालसम्म आउने पर्यटकको अनुभव भने रोमाञ्चक छ । “यस्तो सुन्दर पोखरी देख्न पाइने कल्पना पनि गरेको थिइन, कठिन यात्रा भए पनि यहाँ आएपछि प्रकृतिको काखमै हराएको अनुभूति हुने गरेको छ”, तिम्बुङ पोखरी पुगेकी पवित्रा साउदेनले भनिन ।

पर्याप्त पूर्वाधार नहुँदा धेरै सम्भावना भएको यो ठाउँ अझै ओझेलमा परेको उनी बताउँछिन । उचित प्रवद्र्धन भएमा पर्यटनको मुख्य केन्द्र बन्नसक्ने झापाबाट तिम्बुङ पोखरी घुम्न आउनुभएका आन्तरिक पर्यटक माङ्गा उराउ बताउँछिन ।

स्थानीय पालिकाले आफ्नै स्रोतबाट यो क्षेत्रमा केही लगानी गर्नसकेमा पर्यटनबाट आन्तरिक आम्दानीको राम्रो स्रोत बन्नसक्ने सुनसरीबाट घुम्न आएका पर्यटक घनश्याम साहको भनाइ छ ।

तिम्बुङ पोखरीको संरक्षण र प्रवद्र्धनका लागि एक संरक्षण समिति गठन गरिएको छ । समितिले तीनै तहका सरकारसँग समन्वय गरेर विकासका केही काम अघि बढाइसकेको छ ।

पाँचथर र ताप्लेजुङ दुवै जिल्लाबाट पोखरी पुग्न पैदलमार्ग निर्माण गरिएको छ । पोखरीबाट ढुङ्गाको सोलिङ र सिँढी निर्माण गरिएको छ । थप पूर्वाधार विकासका लागि आवश्यक समन्वय भइरहेको संरक्षण समितिका सल्लाहकार कैलाश राई बताउँछन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ३ : ०१ बजे

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)

नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका