१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नवलपुर यातायात कार्यालयद्वारा कर संकलन अभियान संचालन



कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ दिने विशेष अभियान सञ्चालन गरेको छ। यो अभियान अन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रूट परमिट तथा सवारीचालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको छ।

कार्यालय प्रमुख सुरेश जैसवालका अनुसार प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त-दुरुस्त बनाउन विशेष योजना अघि बढाएको हो। उनले भने, ‘यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर संकलनको लागि अभियान सञ्चालन गरिएको छ।’ उनका अनुसार नवलपुरमा धेरै सवारीसाधनले लामो समयसम्म कर तिरेका छैनन्। त्यसलाई मध्यनजर गर्दै बिलबुक नवीकरण नगर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

जैसवालका अनुसार कर नवीकरण नगरेका तथा जाँचपास नगरी सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनलाई चैत मसान्तसम्म कर बुझाउन आग्रह गरिनेछ। साथै, रूट परमिटबिना सञ्चालनमा रहेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने योजना पनि अघि सारिएको बताए ।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न कार्यालयले विशेष व्यवस्था गरेको छ। सूचना अधिकारी टेक नारायण तिवारीका अनुसार कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको छ। उनले भने, ‘सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ।’ साथै, कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए। तिवारीका अनुसार यस अभियानले यातायात कर प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको जनाए ।

यातायात व्यवस्था कार्यालय नवलपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १८ करोड ७४ लाख ५ हजार ३५५ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा २९ करोड ३९ लाख ७ हजार ३५१ रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्षको राजस्व संकलनमा उल्लेखनीय गिरावट आएको छ।

कार्यालयका अनुसार सवारी साधन दर्ता, नविकरण, नवीकरण दस्तुर, जरिवाना तथा अन्य सेवा शुल्कबाट राजस्व संकलन हुने गर्दछ। तर, चालू आर्थिक वर्षमा नयाँ सवारी साधन दर्ता गर्नेहरूको सङ्ख्या घटेको, सवारी नविकरण प्रक्रिया ढिलो भएको र आर्थिक मन्दीका कारण मानिसहरूले नयाँ सवारी किन्न नसकेको कारण देखिएको छ।

यातायात कार्यालयका अधिकारीहरूले आगामी महिनादेखि राजस्व संकलन सुधार ल्याउन अभियान संचालन गरेको बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : ०८ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात