बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताएका छन् । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताए ।
आज एक समारोहका बीच जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए ।
उनले भने,’नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ । इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।’
मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताए । आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उनले भने-‘उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ ।’
त्यस्तै, मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताए । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे ।
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य रहेको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई बिश्व सप्पदा सूचीमा सूतिकृत गर्न र कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरे । जितगढी उत्सवलाई संघीय सरकारले अपनत्व लिनुपर्ने बताउँदै उपमहानगर जितगढीको बृहत्तर विकासका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्न इच्छुक रहेको जनाए ।
कार्यक्रममा उपमहानगरकी उपप्मुख साबित्रादेबी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, इतिहास अध्यता देबेन्द्रराज शाक्य लगायतले जितगढीको महत्वको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बुटवल आएका थिए ।
जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ ।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएका थिए ।
नेपाली सेनाको गोरखा जितगढी पदयात्रीलाई स्वागत
आजै गोरखाबाट गढी र किल्लाहरुको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले गोरखाबाट जितगढीका लागि निस्केको पदयात्रीहरुलाई पाल्पाको नुवाकोट पुगेर स्वागत गरिएको थियो । बुटवल उपमहानगरकी उप प्रमुख साबित्रादेबी अर्यालको नेतृत्वमा गएको टोलीलले सेनाको पदयात्री टोलीलाई स्वागत गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सहितको सुरक्षा अङ्का अधिकारीहरु पदयात्री टोलीलाई सम्मान गर्न नुवाकोट पुगेको थियो ।
प्रतिक्रिया